२०२१ लागेयता भारतमा मंगलबार सबैभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं, चैत ४ : भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित थपिएका छन्। यो संख्या सन् २०२१ सुरु भएयताकै सबभन्दा बढी हो।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १ करोड १४ लाख ३८ हजार ७२४ पुगेको सो मन्त्रालयले जनाएको छ। कुल सङ्क्रमितमध्ये २ लाख ३४ हजार ४०६ जना अझै सङ्क्रमित अवस्थामै छन् भने १ करोड १० लाख ४५ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन्।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १८८ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ लाख ५९ हजार ४४ पुगेको बुधबार जनाइएको छ। भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ३ करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन्।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २२ करोड ९२ लाख ४९ हजार ७८४ जनाको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा ९ लाख ६९ हजार २१ जनाको कोरोना परीक्षण गरिएको छ।











