Kathmandu Press

कम्युनिष्ट सरकारको अधिनायवाद उजागर भयो : कांग्रेस

काठमाडौं, माघ ११ : प्रमुख प्रतिपक्षी कांग्रेसले आज संसदमा भएको व्यवहारबाट सरकार र यसको नेतृत्वले आफूभित्र जतनले राखेको अधिनायकवादी आकांक्षालाई खु....

कम्युनिष्ट सरकारको अधिनायवाद उजागर भयो : कांग्रेस
फाईल फोटो

काठमाडौं, माघ ११ : प्रमुख प्रतिपक्षी कांग्रेसले आज संसदमा भएको व्यवहारबाट सरकार र यसको नेतृत्वले आफूभित्र जतनले राखेको अधिनायकवादी आकांक्षालाई खुला उजागर गरेको ठहर गरेको छ ।  
सत्ता पक्षले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई वलजवस्ती पारित गरेपछि कांग्रेसले प्रतिपक्ष अस्विकार गर्ने एकदलिय सोचो उदाङगो भएको निष्कर्ष निकालेको हो । ‘विपक्षी रहित राज्यप्रणाली हुनुपर्छ भन्ने शास्त्रीय विश्वासप्रति उहाँहरुको निष्ठा कायमै रहेको पुष्टि भएको छ’ कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले विहिबारसाँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धानमन्त्री स्वयंको अग्रसरतामा डा। केसीसँग भएको सम्झौता कार्यान्वयन नगर्न उहाँ लगायत सरकार, नेकपा र सभामुख समेतको संगठित प्रयत्नको परिणाम स्वरुप प्रधानमन्त्रीप्रतिको नागरिक विश्वासमा गम्भीर ढंगले ह्रास आएको छ ।’

कांग्रेसले संसदमा सभामुखको भुमिका पनि सरकारको अंगको जस्तो भएको भन्दै विपक्षीको ठाडो अस्विकार गरेर अधिनायकवादको अभ्यार गरेको जनाएको छ । ‘सिंगो सदनको साझा नेताको भूमिकाबाट सभामुखले स्वेच्छिक अवकाश लिएको सन्देश गएको छ’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा एकातर्फ शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी भनेर घोषणापत्रमा लेख्ने अर्कातर्फ आफूसँगको बहुमतलाई निश्चित वर्गको हित पक्षपोषणमा अर्पित गरेर सरकारले आफूलाई मत दिने सामान्य नागरिकको भावनामा स्वयं आफै कुठाराघात गरेको पनि उल्लेख गरिएको छ । ‘बहुमतको अर्थ विवेकको निलम्वन निश्चय नै होइन’ विज्ञप्तिमा भनिएको छ, ‘तर डा. गोविन्द केसीको मागमा विगतमा आफै सहमति गर्ने, तोड्ने र अनशनको सत्र दिन पुग्दा सम्म संवादको पहल नगरी ‘मरे हुन्छ’ भन्ने निलम्बित विवेकको सन्देश सरकारले प्रवाह गरेको छ ।’

कांग्रेसले आफ्ना दिवंगत नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल नामेट गर्ने दुष्प्रयास अघि बढाएर सरकारले प्रतिपक्षलाई द्वन्दका लागि खुला आमन्त्रण समेत गरेको छ स्पष्ट हुने चेतावनी पनि विज्ञप्तिमा दिएको छ । 

विज्ञप्तिमा सरकारको अधिनायकवादी चरित्रको देशव्यापी विरोधमा उत्रने घोषणा पनि गरेको छ । ‘नेपाली कांग्रेसका आम साथीहरुसँगै यो मुद्दामा सरोकार राख्नु हुने तमाम देशवासीलाई आवश्यक विमति खुला ढंगले प्रकट गर्न हामी अपील गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस चाडै नै यस बारेमा राष्ट्रव्यापी रुपमा आफ्नो फरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जनाउ दिन चाहन्छ ।’
 

प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, माघ ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्