Kathmandu Press

पाटनमा मिर्गौला उपचार गराउने बिरामी बढे

पाटनमा मिर्गौला उपचार गराउने बिरामी बढे

ललितपुर, चैत ४ : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैँ केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो ।

‘हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४सै घण्टा निरन्तर चलाउनुपरिरहेको छ’, अस्पतालका निर्देशक डा रवि शाक्यले भने, ‘एक दिनमा लगभग ४५ मिर्गौलापीडितको डायलासिस भइरहेको छ । साना बालकदेखि वृद्धसम्म यस रोगको उपचार गराउन आउँछन् ।’ पाटनले लामो समयदेखि सो रोगको शिकार भएका मानिसलाई निःशुल्क उपचार सेवा दिनुका साथै नयाँ बिरामीलाई भने वार्षिक एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा दिने गरेको डा शाक्यले जानकारी गराए ।

सोह्र वर्ष उमेरमुनिका तुलनामा ५० वर्ष उमेर कटेका बढीजसो मानिस उपचार गर्न आउने गरेको अस्पतालका नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठले बताइन् । मिर्गौला मानव शरीरको अति महत्वपूर्ण अङ्ग हो । यसले शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । मिर्गौला फेल भएका मानिसको शरीरबाट विषाक्त रासायनिक पदार्थ बाहिर निस्कन पाउँदैन र उनीहरूलाई दिनानुदिन सो रोगले असर गर्दै जान्छ ।

सो रोग लागेपछि हातखुट्टा अनि अनुहार सुनिने, थकान महसुस हुने, छाला चिलाउने, भोक नलाग्ने, कम्मरको भाग दुख्ने आदि समस्या देखिने चिकित्सकको भनाइ छ । उच्च रक्तचाप र मधुमेहजस्ता रोग भएका मानिसले मिर्गौला बचाउन सदैव विशेष ध्यान पुर्याउनुपर्छ । मिर्गौला स्वस्थ राख्न स्वास्थ्य, खानपान र सक्रिय दिनचर्या अपनाउनसमेत जरुरी छ ।

यसैगरी पाटनले विगत १० वर्षअघिदेखि उपचार सेवा दिन थालेको मानसिक विभागमा समेत बिरामी खचाखच भरिएका बताएको छ । मुलुकमा कोरोना कहर देखिएसँगै पाटनले सो रोगका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार सेवा दिन शुरु गरेको छ  । अन्य रोगका बिरामी उपचार गराउन आउने सङ्ख्या १० देखि ३० प्रतिशत झरेकामा हाल पूर्ववतरूपमा फर्किँदै गइरहेको अस्पताल स्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: ११:४८ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्