दैनिक ४४ सय पाइला हिँड्ने महिला धेरै बाँच्ने
दिनमा दश हजार पाइला हिँडे स्वस्थ भइन्छ भन्ने सल्लाह हामी सबैले पाएका छौं। तर, के यसले स्वास्थ्यलाई साँच्चिकै फाइदा पुर्याउँछ त?
उमेरको आधारमा हिँड्नुपर्....
दिनमा दश हजार पाइला हिँडे स्वस्थ भइन्छ भन्ने सल्लाह हामी सबैले पाएका छौं। तर, के यसले स्वास्थ्यलाई साँच्चिकै फाइदा पुर्याउँछ त?
उमेरको आधारमा हिँड्नुपर्ने पाइलाको अधिकतम संख्या निकै कम हुनसक्ने याँ अनुसन्धानले देखाएको छ। दैनिक चार हजार चार सय पाइला हिँड्ने महिलाको मृत्यु हुने सम्भावना ४१ प्रतिशत कम हुने वयस्क महिला सम्बन्धी सो अध्ययनले देखाएको छ। तुलनात्मक रूपमा उनीहरूभन्दा एक हजार सात सय पाइला कम हिँड्ने महिलाको मृत्यु हुने सम्भावना बढी हुने देखिएको छ।
‘यो एकदमै सामान्य संख्या हो। त्यति पाइला त धेरै जना हिँड्न सक्छन्,’ आइ–मिन लीले भनिन्। उनी ब्रिगमस्थित डिभिजन अफ प्रिभेन्टिभ मेडिसिन र बोस्टोनस्थित वुमेनस हस्पिटलकी एपिडेमियोलोजिस्ट हुन्।
पाइला गन्ने ‘स्टेप–काउन्टर’ले प्रायः उद्धृत हुने ‘स्वास्थ्यका लागि दश हजार पाइला’ सम्बन्धी खोज गर्न उनको ध्यानाकर्षण गरेको उनले बताइन्। सबैभन्दा पहिले १९६५ मा यो अवधारणा उल्लेख भएको हो। ‘पेडोमिटर’ बनाउने एउटा जापानी कम्पनीसँग यो सल्लाहलाई जोडिएको छ।
‘उनीहरू पेडोमिटरलाई मान्पो–केइ भन्थे। जापानी भाषामा यस्को अर्थ दश हजार पाइलाको मिटर हुन्छ,’ उनले भनिन्,‘उक्त संख्या विज्ञानभन्दा बजार प्रवद्र्धन प्रयोजनका लागि थियो।
नयाँ र सुधारिएको अनुसन्धान विधि
अमेरिकी वयस्कले दैनिक औसत चार हजारदेखि पाँच हजार पाइला हिँड्ने गरेको अधिल्ला अनुसन्धानले देखाएका छन्। तर, अघिल्ला अध्ययन व्यक्तिले दिनभरी गरेको कामको स्मरणमा आधारित भएको लीले बताइन्।
‘आजभोली लगाउन मिल्ने प्रविधि आएको छ। वेरेबल भनिने यस्ता प्रविधिले शारीरिक गतिविधि सटिक ढंगले मापन गर्न सकिन्छ।’ सहकर्मीसँग मिलेर उनले झण्डै १७ हजार महिलाको तथ्य संकलन गरेकी छिन्। ती महिलाको औसत उमेर ७२ वर्ष छ। उनीहरूले सात दिनसम्म कम्मरमा‘रिसर्च–ग्रेड–एक्सिलरेटोमिटर’ लगाए। यो उपकरणले चाल र गति दुवै मापन गर्नसक्छ। अनुसन्धाताले चार वर्षसम्म ती महिला ‘ट्रयाक’ गरेका थिए। यो अवधिमा पाँच सय चार जना महिलाको मृत्यु भयो।
संकलित तथ्यको विश्लेषण गर्दा मृत्यु हुनेमध्ये दुई सय ७५ जना शारीरिक रूपमा कम सक्रिय भएको र प्रत्येक दिन औसत दुई हजार सात सय पाइला मात्रै हिँड्ने गरेको देखियो।यो समूह मृत्युको उच्च जोखिममा भएको अध्ययनले देखायो। यो समूहको तुलनामा दिनमा औसत चार हजार चार सय पाइला हिँड्ने महिलाको मृत्युदर ४१ प्रतिशत कम भएको लीले बताइन्। प्रत्येक दिन अझ धेरै हिँड्नाले मृत्यु दरको जोखिम पनि घट्ने उनले बताइन्।
‘सात हजार पाँच सय पाइलापछि समान नतिजा देखियो–अर्थात् योभन्दा धेरै पाइला हिँडे खासै फाइदा हुने देखिएन।त्यसैले शारीरिक रूपमा निष्क्रिय वा सक्रिय हुने सोंच नभएका महिलाले दिनमा केही पाइला हिँडे स्वास्थ्यलाई फाइदा पुग्छ,’ उनले भनिन्।
‘दोश्रो प्रश्न : छिटो वा ढिलो हिँडे के हुन्छ ?’ उनले भनिन्,‘छिटो वा ढिलो हिड्नाले केही फरक पर्दैन। कति पाइला हिँड्ने, त्यसले फरक पर्ने देखियो।’
अध्ययनमा मृत्युदरलाई मात्रै ध्यान दिइएकोले धेरै पाइलाले–जस्तै दश हजार पाइला– स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने प्रष्ट नभएकोमा उनले जोड दिइन्। भविष्यमा यसबारे पनि अध्ययन गर्ने उनले आशा गरेकी छिन्।
हाललाई अध्ययनको नतिजा समान उमेरका वयस्क पुरूषमा पनि लागु हुने उनको विश्वास छ। उनी भन्छिन्,‘शारीरिक गतिविधि र स्वास्थ्यका विभिन्न परिणामबीचको सम्बन्ध महिला र पुरूषमा उस्तै हुने हामीलाई थाहा छ।’ तर सबै उमेर समूहमा पनि यो निष्कर्ष लागु हुनेमा उनलाई शंका छ। ‘कम उमेर समूहलाई अझ धेरै पाइला आवश्यक हुनसक्छ।’
अझ धेरै हिँडडुल गर्ने प्रोत्साहन
डा. काभेरी दासगुप्ता म्याकगिल युनिभर्सिटीकी फिजिसियन तथा प्राध्यापक हुन्। सिएनएनलाई दिएको इमेले अन्तर्वार्तामा नयाँ अध्ययन ‘प्रभावकारी रूपमा सम्पन्न गरिएको’ र चार वर्षको औसत ‘फलो–अप’ अवधि ‘उपयुक्त’ भएको उनले बताएकी छिन्।
सहभागीको ठूलो संख्या भएकाले मिहिन भिन्नता पहिचान भए पनि अनुसन्धानमा महिला मात्रै सहभागी भएकाले पुरूषको सवालमा पनि यो नतिजा लागु हुने वा नहुनेबारे जानकारी नभएको दासगुप्ताले बताइन्। उनी पनि अध्ययनमा सहभागी थिइनन्।
उनी स्वयंले पनि ‘टाइप टु’ मधुमेह वा उच्च रक्तचाप भएका सयौं बिरामी हेरेरका छन्। केहीलाई हिँडेको पाइला गणना गर्न चिकित्सकले सुझाव दिएका थिए। केहीलाई त्यस्तो सल्लाह दिइएको थिएन।वर्षको अन्तिममा दैनिक एक हजार दुई सय वा त्योभन्दा धेरै पाइला हिँड्नेको ‘ब्लड सुगर’ पनि नियन्त्रण भएको उनले बताइन्।
‘बस्नलाई हामीसँग धेरै विकल्प र बहाना छन्। साना वा ठूला स्क्रिनबाट हामी काम गर्नसक्छौं, किनमेल गर्न र मनोरञ्जन लिन सक्छौं,’ उनले भनिन्। प्रविधिले हामीलाई बस्न प्रोत्साहन गरे पनि, यसलाई हिँड्न समेत प्रयोग गर्न सकिने उनले बताइन्। ‘उत्प्रेरित रहने तरिका पत्ता लगाउनुपर्छ र स्वस्थ व्यवहारको बानी बसाल्नुपर्छ,’ उनले भनिन्,‘डाक्टरका पाइला गन्ने सल्लाह होस् वा कार्यस्थलमा स्वस्थ प्रतिस्पर्धा–सबैले स्वस्थ र दीर्घजीवनमा सहयोग पुर्याउँछ।’
युनिभर्सिटी अफ साउथ क्यारोलाइनका पूर्व प्राध्यापक स्टिभन ब्लेयरले ‘शारीरिक गतिविधिको वस्तुगत मापन’ र दैनिक हिँड्नुपर्ने पाइलाको सटिक संख्या नयाँ अध्ययनको सबल पक्ष रहेको बताए। ब्लेयर पनि अध्ययनमा सहभागी थिइन्। तर उनले उस्तै प्रकारको अध्ययन गरेका छन्। शारीरिक निष्क्रियता २१औं शताब्दीको सबैभन्दा ठूलो स्वास्थ्य जोखिम भएको उनी बताउँछन्।
शारीरिक गतिविधिको थोरै मात्राले पनि ठूलो प्रभाव हुन्छ भन्ने अध्ययनको निष्कर्ष महत्वपूर्ण भएको उनले बताए। लीको शब्दमा: ‘शारीरिक सक्रियता बढाउनुहोस्। चार हजार पाँच सय पाइला हिँड्नुहोस्। फाइदा देख्नुहुनेछ।’