Kathmandu Press

काठमाडौंमा ६५ रुपैयाँमा पेटभरि खाना !

वैदेशिक रोजगारको आवेदन दिन कैलालीदेखि आएका देवेन्द्र कुँवर भन्छन्, ‘काठमाडौंमा यति सस्तोमा यति मिठो खाना पाएको यहीँ मात्र हो। काठमाडौंमा बसुन्जेल यहीँ खाना खाने हो।’
काठमाडौंमा ६५ रुपैयाँमा पेटभरि खाना !

काठमाडौं, चैत २ : ‘बुवा के लिनु हुन्छ ?’ कर्मचारीले सोधिन्।

ग्राहकले भने, ‘खाना।’

‘यता टोकन लिनुस्।’

Hardik ivf

सोमबार बिहान ११ बजेतिर कलंकीको चोकमै रहेको ‘हाम्रो खानाघर’को दृश्य हो यो। यहाँ ६५ रुपैयाँको टोकन लिएपछि पेटभरि भेज खाना खान पाइन्छ।

कलंकी सिनेमा भवनको दोस्रो तलाको सटरमा ठूलो फ्लेक्स बोर्ड झुन्डाइएको छ– ‘हाम्रो टिम नेपाल तथा साम्राज्य स्विट्सद्वारा सञ्चालित– खानाघर। खाना रु. ६५।’ बोर्डमा स्लोगन पनि छ, ‘सबैका लागि खाना।’

धेरैलाई अचम्म लाग्न सक्छ, ६५ रुपैयाँमा पेटभरि नेपाली खाना !

यही १७ फागुनदेखि सञ्चालनमा आएको यो खानाघरमा बोर्ड हेरेरै खाना खान आएका कतिपय नियमित ग्राहक बनिसकेका छन्।

कलंकीस्थित हाम्रो खानाघरमा खाना खाँदै ग्राहक । तस्बिर : सुजल बज्राचार्य

चापागाउँ निवासी दालनाथ सञ्जेलका दम्पती खाना खाँदै थिए। उनले यहाँ खाना खाएको पहिलोपटक हो, आएको भने दोस्रोपटक। केही दिनअघि सञ्जेल दम्पती पोखरा बस्ने छोरीलाई भेट्न जाँदै थिए, गाडी चढ्नुअघि उनीहरु यहाँ खाना खान पसे। तर, गाडी छुट्न लागेकाले खाना नखाई हिँड्नुपर्‍यो।

‘यहाँ खाना सस्तोमा पाइन्छ भनेर मान्छेहरूले भनेका थिए। अस्ति गाडी छुट्ने भएकाले खाना खान पाइएन। त्यही भएर फर्कंदा पसेको,’ दालनाथ भन्छन्, ‘यति सस्तोमा यति मिठो कहाँ पाउनू। बाटो परेका बेला यहीँ खाना खान आउने सोचेको छु।’

निकै स्वादिलो मानेर खाना खाएका उनले निस्कने बेला त्यहाँका कर्मचारीलाई भने, ‘खाना मिठो छ। सस्तोमा यति मिठो खाना खुवाउनुभयो, यहाँहरूलाई धेरै धन्यवाद।’

यहाँ भेज खाना तथा खाजा मात्र पाइन्छ। यहाँ कार्यरत सुहाना लामाका अनुसार, ६५ रुपैयाँको खाना सेटमा दाल, भात, तरकारी र अचार दिइन्छ। थपेर खाएको थप पैसा लाग्दैन।

यहाँका नियमित ग्राहक हुन्, देवेन्द्र कुँवर र उनका साथीहरु। २१ वर्षीय देवेन्द्र एक महिनाअघि वैदेशिक रोजगारको आवेदन दिनका लागि कैलालीदेखि आएका हुन्। साथीहरूसँग कलंकीको चाँदनी चोकमा कोठा लिएर बस्ने उनी खाना खान भने यहाँ आउँछन्।

कलंकीस्थित हाम्रो खानाघरमा खाना खाँदै ग्राहक ।

यही बाटो भएर हिँडिरहेका बेला बोर्ड देखेर उनीहरु यहाँ खाना खान आएका थिए। मिठो लागेपछि हरेक दिन आउन थालेको देवेन्द्र बताउँछन्। ‘काठमाडौंमा यति सस्तोमा यति मिठो खाना पाएको यहीँ मात्र हो,’ देवेन्द्र भन्छन्, ‘काठमाडौंमा बसुन्जेल यहीँ खाना खाने हो।’

हाम्रो खानाघरमा कुक, वेटर, रिसेप्सनिस्ट गरी १२ कर्मचारी (सात पुरुष, पाँच महिला) छन्। यहाँ कार्यरत २४ वर्षीया अमृता रिमाल भन्छिन्, ‘यो भर्खरै मात्र सञ्चालनमा आएको भए पनि धेरै ग्राहक आउन थालेका छन्। दिनमा एक सय ५० जना जतिले खाना खान्छन्।’

कलंकीस्थित हाम्रो खानाघरका स्टाफ अमृता रिमाल (दायाँ) र सुहाना लामा ।

कतिपय ग्राहकले ‘यति सस्तोमा खाना कसरी दिनुहुन्छ, सोडा हाल्नुहुन्छ कि !’ भनी अनेक प्रश्न पनि सोध्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘हामीले जे खाना खान्छौँ, त्यही नै ग्राहकलाई दिने हो।’ यति बोलिनसक्दा उनले पटक–पटक ग्राहकलाई सोध्दै थिइन्, ‘खाना थपौँ कि !’ उनका अनुसार, यहाँ खाना खान आउनेमध्ये प्रायः विद्यार्थी, संस्थाका कर्मचारी, व्यापारी हुन्छन्। यहाँ खानाबाहेक चिया–नास्ता पनि पाइन्छ। यहाँ काम गर्न रमाइलो र सहज लागिरहेको अमृताले बताइन्।

‘हाम्रो टिम’बाट सञ्चालित

हाम्रो टिम नेपाल नामक संस्थाले २०७७ माघ १७ देखि अनामनगरमा हाम्रो खानाघर सञ्चालनमा ल्याई ६५ रुपैयाँमा खाना खुवाउन सुरु गरेको हो। यसपछि संस्थाले फागुन १७ गते कलंकीमा आफ्नो शाखा विस्तार गर्‍यो।

संस्थाका अध्यक्ष विमल पन्तका अनुसार, चक्रपथ लगायत देशभरका करिब ५० सहरमा ६५ रुपैयाँमै खाना खुवाउने शाखा विस्तार गर्ने संस्थाको योजना छ।

हाम्रो टिम गैरनाफामूलक संस्था हो। २०७२ सालतिर १५ जना जति मिलेर यो संस्था दर्ता गरेका थिए। अहिले देशभर करिब ११ सय अभियन्ता यस संस्थामा आबद्ध भई समाज सेवामा लागिरहेको अध्यक्ष पन्त बताउँछन्।

कलंकीस्थित हाम्रो खानाघरमा खाना खाँदै गरेका ग्राहकलाई 'सर्भ' गर्दै स्टाफ।

कोभिडका कारण धेरैको आर्थिक अवस्था खस्किएको छ। यस्तो अवस्थामा निम्न आयस्रोत भएकालाई लक्षित गरी सस्तो मूल्यमा खाना खुवाउने योजना बनेको अध्यक्ष पन्त बताउँछन्। सुपथ मूल्यमा खाना खुवाउँदा कम तलबमा काम गर्नेले बचत गर्न पाउँछन्, विद्यार्थीलाई थोरै खर्चले पुग्छ, त्यसैले कम आयस्रोत भएका र विद्यार्थीलाई लक्षित गरी ६५ रुपैयाँमा खाना खुवाउन थालिएको उनको भनाइ छ।

‘धेरैले सस्तोमा खाना दिँदा घाटा हुन्न भनेर सोध्नुहुन्छ,’ पन्त भन्छन्, ‘हाम्रो उद्देश्य सेवा दिने हो। हाम्रो अभियानमा साथ दिनेहरूले हामीलाई सस्तोमा चामल र तरकारीको व्यवस्था गरिदिनुभएको छ। आवश्यक परेको खण्डमा संस्थाका सबै सदस्यले आफूले सक्ने जति रकम सहयोग गर्दै आएका छन्।’

विमलका अनुसार, संस्थाले २०७२ को विनाशकारी भूकम्पका बेला खानापानी वितरण गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने, दाहसंस्कारमा सहयोग गर्ने आदि सहयोग गरेको थियो। त्यस्तै, बाढी–पहिरो वा आगलागी पीडितलाई सहयोग गर्दै आएको उनी बताउँछन्।

 

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, चैत २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्