गुरुङ समुदायलाई बुझ्न ‘गुरुङ दर्पण’

काठमाडौं, चैत २ : नेपालको राजनीति, निजामती र अन्य सेवामा गुरुङहरुको पहुँच र प्रतिनिधित्वको अवस्थाबारे लेखक तथा अध्येता डीबी गुरुङको पुस्तक ‘गुरुङ दर्पण’ सार्वजनिक भएको छ।
गुरुङले २००७ सालयता राज्य सञ्चालनमा रहेको गुरुङहरुको सहभागिता, पहुँच र प्रतिनिधित्वको बृहत् तथ्यांक संकलन तथा विश्लेषण गरेका छन्। सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सो पुस्तकको हालै विमोचन गरेका हुन्।
पुस्तकमा अहिलेसम्म भएका गुरुङ समुदायबाट मन्त्री, सांसद भएका र उच्च ओहोदामा नियुक्ति पाएका र नेतृत्व गरेका व्यक्तिलाई समेटिएको छ। नेपालको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालगायत विभिन्न निकाय र क्षेत्रमा विगतदेखि वर्तमानसम्म गुरुङ समुदायको पहुँच र प्रतिनिधित्वको अवस्था तथा भविष्यको सम्भावना र चुनौतीबारे समेत पुस्तकमा उल्लेख छ।
मन्त्री गुरुङले पुस्तक विमोचन गर्दै गुरुङ समुदायका लागि पुस्तक ऐतिहासिक ऐना भएको धारणा राखे। ‘यो भन्दा पहिले प्राप्त उपलब्धिको समीक्षा गर्नुपर्ने अवस्था छ र थप उपलब्धिका लागि पुस्तकले सिंगो समुदायलाई प्रेरणा दिनेछ,’ मन्त्री गुरुङले भने।
सो पुस्तकबारे सांसद हिरा गुरुङ, पूर्वराज्यमन्त्री सीता गुरुङ, पूर्वकार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, प्राध्यापक डा. ओम गुरुङ, डा. टेकबहादुर गुरुङ, तमू ह्युला छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका महासचिव सूर्य गुरुङलगायतले चर्चा गरेका थिए।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नात्तकोत्तर गरेका लेखक गुरुङले यसअघि ‘गुरुङ सेरोफेरो’ लेखेका थिए। उनको ‘शासन र शक्तिको चित्रमा नेपाल’ नामक पुस्तक प्रकाशोन्मुख छ।











