पढ्ने रहर छ, पढ्ने ठाउँ छैन
काठमाडौं, माघ १२ : रोल्पाको रुन्टीगडी गाउँकी १० वर्षीया अनिता विक कक्षा चारमा पढ्छिन् । तर, दुई महिनादेखि विद्यालय गएकी छैनन् । उनी अहिले रोल्पामा छैन....
काठमाडौं, माघ १२ : रोल्पाको रुन्टीगडी गाउँकी १० वर्षीया अनिता विक कक्षा चारमा पढ्छिन् । तर, दुई महिनादेखि विद्यालय गएकी छैनन् । उनी अहिले रोल्पामा छैनन् । भक्तपुर, मध्यपुर ठिमीको एक इँटा भट्टामा छिन् ।
अनिताका बा–आमा ठिमीको दक्षिण बराही इँटा भट्टामा काम गर्छन् । उनी चाहिँ बिहान–बेलुकी खाना पकाउँछिन् । दिउँसो भाइबहिनी हेर्छिन् । उनकी सबैभन्दा कान्छी बहिनी एक वर्ष पनि पुगेकी छैनन्, जसलाई उनी दिनभरि पिठ्यूँमा बोक्छिन् ।
गाउँमा हुँदा पनि बिहान–बेलुकी खाना पकाउँथिन् । दिउँसो चाहिँ विद्यालय जान पाउँथिन् । यहाँ त उनको पढाई नै बन्द छ । अरु केटाकेटी विद्यालय जाँदै गरेको देख्दा उनलाई पनि विद्यालय जान मन लाग्छ । तर, उनको विद्यालय छैन ।
अनिताका बुवा मान सिंह बिक भन्छन्, “छोरीलाई पढाउने रहर त थियो, तर यहाँ कहाँ पढाउने केही थाहा छैन । छोराछोरीकै लागि सकी नसकी काम गरिरहेका छौँ । उनीहरूलाई पढाउन नपाउँदा दुःख लाग्छ ।”
सल्यानको शिद्धेश्वरी गाउँकी १२ वर्षीया पूजा बुढाथोकी (तस्वीर माथि) दुई महिनादेखि विद्यालय गएकी छैनन् । गाउँमा हुँदा उनी कक्षा पाँचमा पढ्थिन् ।
पूजाका बा–आमा भक्तपुर, ठिमीको इँटा भट्टामा काम गर्छन् । बा–आमा काममा जाँदा उनी भाइबहिनी स्याहर्न व्यस्त हुन्छिन् । उनलाई विद्यालय जान रहर लाग्छ । तर, उनी अहिले विद्यालयबाट धेरै टाढा छिन् । यहाँ अस्थायी सिकाईको व्यवस्था नै छैन ।
उनले आफ्ना कापी–किताब पनि साथै ल्याएकी छिन् । विद्यालय जान नपाए पनि बेला–बेला किताब हेरे जाँचमा सजिलो हुने उनको आशा छ । तर, उनलाई घरमै पढ्न पनि समय छैन ।
पूजाकी १० वर्षीया वहिनी बर्षा पनि गाउँले काकीको छोराको हेरबिचार गर्नमै व्यस्त हुन्छिन् । उनीहरू दिनभरि राम्रो खान पनि पाउँदैनन् । चीसो र धूलोले उनीहरूका ओठ, गाला र हात–खुट्टाका छाला पट्पटी फुटेका छन् ।
हिउँद सुरु भएपछि काठमाडौं उपत्यकाभित्रका इँटा भट्टाहरू चल्न थाल्छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका छेउपाखामा रहेका इँटाभट्टाहरू दिनभर पुत्पुत् धूँवा फ्याँल्छन् । हजारौं मजदुरहरू माटो खन्ने, ओसार्ने, इँटालाई आकार दिने र इँटा पोल्ने काममा व्यवस्त हुन्छन् ।
उपत्यकामा हरेक वर्ष ठडिने कङ्क्रिट संरचनाहरू यिनै भट्टाबाट निस्किने इँटाले बन्छन् । यी भट्टामा काम गर्न हरेक हिउँद याममा नेपालका ग्रामीण क्षेत्रबाट हजारौं मजदुरहरू आउँछन् । उनीहरूका लालाबाला पनि साथै हुन्छन्, जसले हिउँद यामभरि पढ्न पाउँदैन । इँटा पोल्ने मौसम सकिएपछि गाउँ फर्किदा तिनको पढाई धेरै छुटिसकेको हुन्छ । उनीहरूमध्ये अधिकांश फेल हुन्छन् । र, धेरैले बीचैमा पढाई छाड्छन् ।
मध्यमुर ठिमीको दक्षिण बराही इँटा भट्टामा मात्रै करिब ३ सय कामदार छन् । तिनका छोराछोरी विद्यालय जान पाउँदैनन् । उपत्यकाका एकाध इँटा भट्टा वरपर केही एनजीओले इँटा मजदुरका छोराछोरीका लागि अस्थायी सिकाई केन्द्र खोलेका छन् । तर, दक्षिण बराहीमा यस्तो केन्द्र छैन ।
रोल्पा, रुकुम, दाङ र सल्यानजस्ता जिल्लाबाट इँटा मजदुर ल्याउने ठेकेदार हुमादेवी भण्डारी भन्छिन्, “केटाकेटीहरू स्कूल जान खोज्छन्, तर तिनलाई कतै पठाउने व्यवस्था छैन ।”
इँटा भट्टाहरू मंसिरदेखि बैशाखसम्म मात्रै चल्छन् । कामकै लागि ६ महिना काठमाडौं र ६ महिना गाउँ बस्नुपर्दा आफ्ना बालबालिकाको पढाई बिग्रिएको अभिभावकहरू बताउँछन् ।
रोल्पाबाट आएका इँटा मजदुर आकाश विक भन्छन्, “कहिले यता कहिले उता गर्दा धेरै केटाकेटीले बीचैमा पढाई छाड्छन् ।”
उनी थप्छन्, “सानोमा राम्रो पढ्न पाउँदैनन् । ठूलो भएपछि पढाई राम्रो हुँदैन । फेल हुन्छन् । पछि विद्यालय नै छाड्छन् ।”
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्द शर्मा बीचैमा पढाई छाड्ने बालबालिकाको संख्या कति छ भन्ने तथ्याङ्क आफूहरुसँग नभएको बताउँछन् ।
अहिले यसका लागि तथ्यांक संकलनको काम सुरु भइरहेकाले ठ्यक्कै यती बालबालिका बिचैमा विद्यालय छाडछन् भन्न नसकिने उनले बताए ।