हनुमानढोकामा प्राचीन गरगहना प्रदर्शनीमा
काठमाडौं, चैत १ : हनुमानढोका दरबार क्षेत्रको ढुकुटी भवनमा प्राचीन एवं मौलिक स्वरुपका गरगहना प्रदर्शनी शुरु भएको छ।हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको १०औँ...
काठमाडौं, चैत १ : हनुमानढोका दरबार क्षेत्रको ढुकुटी भवनमा प्राचीन एवं मौलिक स्वरुपका गरगहना प्रदर्शनी शुरु भएको छ।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको १०औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज प्रदर्शनी उद्घाटन गरेका छन्। विसं २०६८ असार १३ गते हनुमानढोका दरबारस्थित न्हुच्छे चोक र फरासखानाबीचको भवन जीर्णोद्धार गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामग्री फलामको सेफमा पुरिएको अवस्थामा प्राप्त भएको थियो। यसरी पाइएको सामग्रीमध्ये केही छनोट गरेर आजदेखि प्रदर्शनीमा राखिएको हो।
प्रदर्शनीमा धार्मिक एवं सांस्कृतिक कार्यमा प्रयोग गरिने देवदेवीका मूर्ति, सुन, चाँदी तथा तामाका गरगहना, सुन चाँदीका सिक्का, इष्ट इण्डिया कम्पनीले जारी गरेका अत्यन्त दुर्लभ सुनका सिक्का, प्राचिन कालका नापतौलका सामग्री, राज्यभिषेक समारोहमा हात्तीको शिरमा सजाइने चाँदीको चन्द्र कलश प्रदर्शनमा छन्। यसैगरी भगवान् श्रीकृष्णलाई चढाउने सुन तथा चाँदीका बहुमूल्य मुकुटलगाययत पनि प्रदर्शनीमा राखिएको समितिका कार्यकारी निर्देशक सञ्जीव खनालले जानकारी दिए।
लामो समयदेखि भण्डार गृहमा थन्किएका यस्ता सामग्री प्रदर्शनीमा राख्नाले त्यसबेलाको कला, धर्म, संस्कृतिबारे आममानिसले जानकारी पाउन् भन्ने उद्देश्य रहेको समितिले जनाएको छ। पहिले प्रयोग भएर अहिले लोप भएका यस्ता सामग्रीलाई पुनर्जागृत गर्न पनि प्रदर्शनीले सहयोग पुग्नेछ।
मन्त्रालयका सचिव एवं समितिका अध्यक्ष यादवप्रसाद कोइरालाले सांस्कृतिक सम्पदाको संरक्षणले इतिहासलाई पछिसम्म जीवन्त राख्न मद्दत गर्ने भएकाले यस्ता चीजको संरक्षणमा ध्यान दिनुपर्ने बताए। पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले हनुमानढोका दरबार क्षेत्रको आगम्छे घरलाई पुनःनिर्माणका लागि सहमति जुटेको बताए।











