Kathmandu Press

नेपालमा तानाशाह टिक्दैन भन्ने ओलीले बुझिराखे हुन्छः देउवा

भैरहवा, जेठ १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह शैलीमा अघि बढेको आरोप लगाएका छन्....

नेपालमा तानाशाह टिक्दैन भन्ने ओलीले बुझिराखे हुन्छः देउवा

भैरहवा, जेठ १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह शैलीमा अघि बढेको आरोप लगाएका छन्। 

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले नेपालमा तानाशाह टिक्न नसक्ने भएकाले त्यसको हेक्का राख्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए। ‘नेपालमा तानाशाह टिकेको छैन। यो कुरा प्रधानमन्त्री ओलीले बुझिराखे हुन्छ,’ देउवाले भने।

उनले सरकारले प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्न खोज्नु नै तानाशाही प्रवृत्ति भएको बताए। ‘सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, स्वतन्त्र न्यायलयमाथिको हस्तक्षेप नै तानाशाही प्रवृत्ति हुन्,’ उनले भने,‘प्रेस र न्यायालयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजा जस्तै सदाका लागि कम्युनिष्टहरुलाई पनि हटाउन आन्दोलन हुन्छ।’

देउवाले सरकार संविधानको मर्म र भावनाविपरित अघि बढेको बताए। उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुमै डुबेको आरोप पनि लगाए। वाइडबडी, बूढीगण्डकी जलविद्युत आयोजना, बालुवाटार प्रकरणमा सरकारले चरम भ्रष्टचार गरेको देउवाको आरोप छ।

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, जेठ १९, २०७६