Kathmandu Press

अहिले सरकारलाई उडाउनेलाई पछि रेलमा गुडाउँछौं : मन्त्री बाँस्कोटा

सिन्धुली, जेठ १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन्। 

प्रेस संगठन ने....

अहिले सरकारलाई उडाउनेलाई पछि रेलमा गुडाउँछौं : मन्त्री बाँस्कोटा

सिन्धुली, जेठ १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन्। 

प्रेस संगठन नेपाल सिन्धुलीले आइतबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने हल्ला जसरी आउँछन् त्यसरी नै जाने भएकाले हल्लाको पछि नलाग्न आग्रह गरे।

मन्त्री बाँस्कोटाले सरकारले ल्याएको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताए। वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको उनले बताए।

‘सामाजिक न्यायसहितको दु्रत आर्थिक विकासको नीति र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला बजेटले निर्माण गरेको छ,’उनले भने,‘अब आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रिय पूँजीको विकास गरी नेपालीलाई उन्नत समाजवादी दिशातर्फ अघि बढाउने सङ्कल्प हामीले लिएका छौं।’   

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको देश बनाइने र करीब १३ हजार डलर प्रतिव्यक्ति आय पुर्‍याइने उनको भनाइ थियो । हुलाकी राजमार्ग, सुनकोशी–मरिण ड्राइभर्सनलगायत धेरै क्षेत्रमा सरकारले बजेट विनियोजन गरेको जानकारी दिँदै उनले मुलुकका ७० जिल्लालाई आगामी आर्थिक वर्षभित्र साक्षर जिल्ला घोषणा गरिने बताए।

सामाजिक सुरक्षाभत्ता वृद्धिलगायत सरकारले ल्याएको बजेटले विपक्षी आत्तिएकाले अनावश्यक हल्लाको पछि नलाग्न उनले आग्रह गरे। कनिका छरेजस्तो बजेट भनेर प्रचार गरिए पनि त्यस्तो नभएको बताउँदै उनले बजेटका विषयमा अनावश्यक टिप्पणी गरेर अनावश्यक गीत नगाई देश विकासमा सबैलाई एक जुट हुन आग्रह गरे।

‘अहिले सरकारलाई उडाउनेलाई पछि रेलमा गुडाइन्छ, तिनै व्यक्तिले टिकट काटेर रेल चढ्छन्, उडाउनेले उडाउँदै गर्छन्,’ मन्त्री बाँस्कोटाले भने।
 

प्रकाशित मिति: १६:२४ बजे, आइतबार, जेठ १९, २०७६