भूमिगत रूपमा नाचगान गर्दागर्दै राजनीतिमा आएँ
‘नाच्न र गीत गाउन जाँदाजाँदै कार्यकर्ताको रुपमा लोकप्रिय बन्दै गएछु। त्यतिबेला मलाई ठूला मानिसले भन्नुहुन्थ्यो– नाचिरहेका बेला पुलिस आए नडराऊ, हामी तिमीहरूलाई काँधमा बोकेर हिँड्छौँ।’काठमाडौं, चैत्र १ : मंगलबार दिउँसो १२ बजे टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले काठमाडौं प्रेसलाई समय दिएकी थिइन्, आफ्नै कार्यालयमा। तर उनले बोलाएकै समयमा हामी पुग्दा उनी कार्यालयमा थिइनन्।
‘उहाँ त वडा–५ मा महिला उद्यमीतालिमको उद्घाटन कार्यक्रमका लागिजानुभएको छ,’ हामीलाई नगरपालिकाका कर्मचारीले जानकारी गराए। सुरक्षाकर्मचारीले एउटा कुर्सी देखाउँदै भने, ‘बस्दै गर्नुस्, म्याडम आउनुहुन्छ।’
उपप्रमुख डंगोल नागरिकहरुप्रति, विशेष गरी महिलाप्रति अलि बढी संवेदनशील स्वभावकी छन्। त्यसैले बोलाएको ठाउँमा उनी पुगिहाल्छिन्। उपप्रमुख सचिवालय सचिव विजय डंगोल भन्छन्, ‘उहाँ असहाय र एकल महिलाको हरेक दुःखमा सहभागी हुने कोसिस गर्नुहुन्छ।कसैलाई कुनै दुःख परे उहाँ हरेक नगरबासीको घरमा पुग्नुहुन्छ।’
हामीलाई पर्खाएको करिब आधा घन्टापछि हतार–हतार गरी उपप्रमुख डंगोल आइपुगिन्। हो, उनलाई धेरैतिर समय मिलाउनुपर्छ। धेरैलाई समय दिनुपर्छ, उनी यस्तै जिम्मेवारीको पदमा छन्। उनी यो पदसम्म कसरी आइपुगिन्, वा यहाँसम्म आइपुग्न कस्तो संघर्ष गरिन् ? यही कथा सुन्न हामीले उनीसँग समय लिएका थियौँ।
नुवाकोटबाट धान बोकेर काठमाडौं ल्याउँथे
ज्ञानमायाको जन्म टोखा नगरपालिका– २ माभएको हो, २०३० असार ३१ गते। तर, उनको नागरिकतामा उमेर दुई वर्ष कम छ, २०३२ साउन ३१।
उनको बाल्यकालमा काठमाडौंको कथा आजको भन्दा निकै फरक थियो। उनकाबुबाज्ञानलाल डंगोल कृषिसम्बन्धी व्यापारी थिए। २०३०–३५ सालतिर ज्ञानलालले नुवाकोटबाट ध्यान ल्याएर गोंगबुस्थित मिलमा कुटाउँथे। ज्ञानमायाकी आमा त्यो चामल बोकेर असलमा बेच्न जान्थिन्। ज्ञानमायालाई बाबुआमाले यसरी नै हुर्काएका हुन्।
आज हामीले काठमाडौंमा थरीथरीका चामल किन्न पाउँछौँ, तर आजभन्दा ४०–५० वर्षअघि आफ्ना बाबुआमाले गरेको दुःख सम्झँदा ज्ञानमायालाई समय धेरै बदलिएको आभास हुन्छ।
‘बुबाले नुवाकोटबाटएकदिन हिँडेर धान बोकेर टोखा ल्याउनुहुन्थ्यो,’ ज्ञानमाया भन्छिन्, ‘गोंगबुमा राइस मिल थियो। मिलमा धान कुटेर घर ल्याइन्थ्यो। घर ल्याएपछि आमाले चामल सफा गर्नुहुन्थ्यो र असनमा बेच्न लैजानुहुन्थ्यो।’
बुवाआमाको दुःख सम्झँदा पनि उनलाई राजनीतिमा लागेर गाउँसमाजका लागि केही गर्ने प्रेरणा मिल्छ।
भूमिगत कम्युनिस्टका कार्यक्रम नाचगान गर्दा...
त्यतिखेर टोखा अचेलजस्तो विकसित थिएन। विद्यालय खुलिसकेका थिएनन्। पढ्नुपर्छ, छोराछोरालाई पढाउनुपर्छ भन्ने सोच समाजमा आइसकेको थिएन।ज्ञानमायाका घरमा गाईवस्तु पालिएको हुन्थ्यो। पाँच–सात वर्षको उमेरमा उनी गाईवस्तुको गोठालो जान्थिन्।
पञ्चायतकालमा कम्युनिस्टहरु भूमिगत थिए। कम्युनिस्ट पार्टीका स्थानीय कार्यकर्ता सानुकुमार श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, अष्टनारायण डंगोल, बाबुलाल डंगोलको पहलमाटोखामा पहिलोविद्यालय खुल्यो, लक्ष्मीपुर इंग्लिस् स्कुल (२०४१)। कम्युनिस्टहरुको गढ थियो, टोखा।भूमिगत स्थानीय नेता–कार्यकर्ता ज्ञानमायाको घरमा आइरहन्थे। उनीहरुले गाउँमा रातको समयमा चेतनामूलक सांस्कृतिक कार्यक्रम गर्थे। त्यस्ता कार्यक्रममा ज्ञानमायालाई नाच्न मन लाग्थ्यो, उनी नाच्थिन्। ‘नाच्न र गीत गाउन जाँदाजाँदैकार्यकर्ताको रुपमा लोकप्रियबन्दै गएँछु,’ ज्ञानमाया भन्छिन्, ‘त्यति बेलामलाई ठूला मानिसले भन्नुहुन्थ्यो– नाचिरहेका बेला पुलिस आए नडराऊ,हामी तिमीहरूलाई काँधमा बोकेर हिँड्छौँ।’
ज्ञानमाया नाचेर गाउँमा चिनिदै थिइन्, त्यही बेला गाउँमा स्कुल खुल्यो। गाउँका कम्युनिस्ट कार्यकर्ताले ज्ञानमायाका बुवा ज्ञानलाललाई भने, ‘ज्ञानमायालाई पनि स्कुल पठाउनुस्।’ गोठालो जानुपर्छ भनेर सुरुमा ज्ञानलालले छोरीलाई स्कुल पठाउन चाहेका थिएनन्। त्यतिबेला आजजस्तो स्कुल पढ्ने चलन पनि थिएन। त्यसमाथि स्कुल नै भर्खरै खुलेको थियो। अन्ततः सबैले बारम्बार भनेपछि ज्ञानलालले छोरीलाई स्कुल पठाए। यसरी ११ वर्षको उमेरमा ज्ञानमायाले विद्यालयको आँगन टेकिन्।
लक्ष्मीपुर इंग्लिस स्कुलमा कक्षा ५ सम्म मात्र पढाइ हुन्थ्यो। त्यहाँ ५ सम्म पढेपछि सरस्वती माध्यमिक विद्यालयमा उनी सिधै ८ कक्षामा भर्ना भइन्। ‘त्यतिबेला उमेर धेरै भएकाकारण ६ र ७ कक्षा नपढी ८ मा भर्ना भएकी थिएँ,’ उनी भन्छिन्, ‘यसरी २०४९ सालमा एसएलसी दिएँ।’
६–७ कक्षा नपढेकाले उनी एकैपटकमा एसएलसी उत्तीर्ण हुन सकिनन्।पुनः०५० मा एसएलसी दिइन् र पास भइन्।एसएलसी पास हुँदा उनको परिवारलेआफन्तलाई बोलाएर भोज खुवाएको थियो।
त्यतिबेला सरस्वती माविबाट उनीसँगै अरु चारजना महिलाले एसएलसी पास गरेका थिए। एसएलसी पास गरेका उनीहरुको समाजमा छुट्टै सम्मान थियो। ज्ञानमायाले पछि आफैँलेअध्ययन गरेको विद्यालयमा बढाउने जागिर पाइन्।
एसएलसीपछि उनीबाँसबारीस्थित विश्व निकेतन कलेजमा भर्ना भइन्। तर, तीन वर्षसम्म फेल भइरहिन्। तर उनले हार मानिनन्। ०५४ सालमाउनी पुनः मनोहर स्मृति कलेज सामाखुसीमा भर्ना भइन्, यसपालि भने उनले सरासर पास गरिन्। त्यसपछि उनले ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजुबाट स्नातकगरिन्, त्यसमाथि पढ्ने उनको सपना विविध कारण पूरा हुन सकेन।
स्नातकसम्म उनले शिक्षण पेसा गरेरै पढेकी हुन्। १५ वर्षसम्म पढाएपछि उनले जागिर परिवर्तन गरिन् र टोखास्थित नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लेखाशाखामा काम गर्न थालिन्।
बाल्यकालदेखि राजनीतिमा
उपप्रमुख डंगोग घरकी एक मात्र सन्तान हुन्। त्यसो त उनकी दिदी र बहिनी रहेनन्, दिदी ११ दिनमा र बहिनी ६ महिनामा खसे। उनले हालसम्म विवाह गरेकी छैनन्। विवाह गरेर एक परिवारलाई सफल बनाउनुभन्दा आश्रम बनाएर पछाडि परेका र दुःखमा परेका महिलालाईसहयोग गर्ने उनको लक्ष्य छ। ‘आमाबुबाले छोरासरह हुर्काउनुभयो,’ उनी भन्छिन्, ‘त्यसैले छोरा बनेर आफ्नो कर्तव्य पूरा गर्न लाग्दा विवाह गर्नतिर ध्यान गएन। समाज र परिवारकै सेवामा लागिरहेँ।’
‘छोरी मान्छे भएर लखर्लखर हिँड्छे, बिहे गर्ने उमेरमा माइतीमा बसेकी छे, राजनीति–राजनीति भन्दै दुनियाँको पछि लाग्छे’ जस्ता शब्द उनले समाजमा सुनिरहनुपर्छ। उनी भन्छिन्, ‘महिला राजनीतिमा सहज छैन।’
उनको राजनीतिक यात्रा भने बाल्यकालदेखि नाचगानबाट सुरु हुन्छ। २०३६ सालमा टोखामा श्री बालप्रेमी खेलकुद मण्डल स्थापना भएको थियो, यो कम्युनिस्ट पार्टी निकट थियो। ज्ञानमायाले सानैदेखि यही मण्डलबाट नाचगान गर्थिन्।
‘जनताको गीत गाउँदा र नाच्दानाच्दै राजनीति गर्न प्रेरणा मिल्यो,’ उनी भन्छिन्, ‘मामाघर तर्फका धेरै आफन्त कम्युनिस्ट हुनुहुन्थ्यो। त्यसैले मलाई राजनीतिमा लाग्न सहज भयो।’
यसरी २०४३ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य र०४७मा संगठित सदस्य भइन्।
यसरी पार्टीमा सक्रिय हुँदै ०५६ देखि ०५९ सालसम्म ग्रामीण आदर्श बहुमुखी क्याम्पसको स्ववियु चुनावमा निर्विरोध स्ववियु सदस्य भएर काम गरिन्। ०६२÷६३ को जनआन्दोलनसम्म आइपुग्दा उनले पार्टीमा एक प्रकारको परिचय निर्माण गरिसकेकी थिइन्। जनआन्दोलनमा खटिएकी उनी अखिल नेपाल महिला संघ जिल्ला समिति सदस्य, टोखा नगर संगठन कमिटीको सदस्य लगायत जिम्मेवारीमा रहेर काम गरिन्। अन्नतः २०७४ मा स्थानीय तहको निर्वाचनमा टिकट पाएर उपप्रमुख भइन्।
उद्योगमुखी तालिमलाई प्राथमिकता
उनले शिक्षण पेसा अपनाउँदा गाउँका महिलालाई प्रौढ शिक्षा पनि पढाएकी थिइन्। उनी उपप्रमुख भइसकेपछि पनि प्रौढ शिक्षा पढेका महिलाले उनीसँग आग्रह गरे, ‘प्रौढ शिक्षालाई निरन्तरता दिनुपर्छ। यसले समाजमा महिलालाई शिक्षित बनाउँछ।’ उपप्रमुख भएपछि उनले प्रौढ शिक्षा पढाउन अरु कसैलाई जिम्मा दिएकी छन्।
ज्ञानमायाको बुझाइमा महिला–पुरुषलाई बराबरी रुपमा शिक्षा, सीपमूलक तालिम दिन सकियो भने समाज र राष्ट्र समृद्ध हुन्छ। टोखा नगरपालिकाले महिला–पुरुषलाई थुप्रै तालिम दिएको पनि छ। ‘युवालाई लोकसेवा तयारीका कक्षा, कम्प्युटर तालिम, नेतृत्व विकास तालिम, महिलालाई जुत्ता, अचार, कफी, बेकरी बनाउन सिकायौँ,’ उनी भन्छिन्, ‘तर, तालिम दिएअनुसार महिलाहरूले उद्योग सञ्चालन गर्न सकेनन्। आगामी दिनमा उद्योगमूखी तालिम दिने तयारीगरिरहेका छौं।’
अहिले महिलाको आम्दानी बढाउन बट्टाई पालन योजना ल्याइएको छ। नगरपालिकाले सुरुमा २० वटा बट्टाई चरा निःशुल्क वितरण गर्छ। साथै, खोर निर्माणमा ५० प्रतिशत अनुदानमा दिइन्छ।उपप्रमुखका अनुसार, हालसम्म ४५ जनालाईचरा र खोर वितरण गरिएको छ।
त्यस्तै, कपडाको जुत्ता बनाई घरेलु उद्योगका रुपमा सञ्चालन गर्न चाहे नगरपालिकाले सहयोग गर्छ। बर्खे र हिउँदे तरकारीको बीउ निःशुल्क वितरण गरिन्छ। साथै, कौसीखेती गर्नका लागि मल लगायतमा५० प्रतिशत अनुदान दिइन्छ।
अहिलेसम्म नौ सय भन्दा बढीलाई कौसी खेतीका लागि नगरपालिकाले सहयोग गरेको छ।
उप–प्रमुखको बुझाइमा, राजनीति एक समाजसेवा हो, देशलाई गतिशील बनाउने माध्यम हो। उनले आफ्नो जीवन राजनीति र समाजसेवामा समर्पित गर्ने अठोट गरिसकेकी छन्।