Kathmandu Press

विजय खड्गी स्मृति गोल्डकप चितवनमा

चितवन, चैत १ : वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल सङ्घको...
विजय खड्गी स्मृति गोल्डकप चितवनमा

चितवन, चैत १ : वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल सङ्घको आयोजनामा स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो ।

यही चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको तयारी तीव्रगतिमा भइरहेको जनाइएको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्यारापिट निर्माणको काम भइरहेको जानकारी दिए । प्यारापिट तीन हजार दर्शक क्षमताको हुनेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने सङ्घका महासचिव एवं प्रतियोगिताका सञ्चार संयोजक रामहरि ढकालले बताए । प्रतियोगितामा चितवनका दुईसहित हेटौँडा, पोखरा, काठमाडौँ, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश नं २ को वाग्मती गरी १० टोली सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेताले तीन लाख रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ तथा विधागतरूपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर–१३ र अण्डर–१४ गरी दुई उमेर समूहका खेल खेलेका थिए। कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका खड्गीको ३२ वर्षको उमेरमा निधन भएको थियो । उनका एक छोरा छन् । प्रतियोगिताबाट बचेको रकम खड्गीका छोराको अध्ययनका लागि सहयोग गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: ११:१३ बजे, आइतबार, चैत १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्