Kathmandu Press

मन्त्री र सांसद पद गएपनि प्रधानमन्त्रीको साथ छोडिन्न : उर्जामन्त्री रायमाझी 

काठमाडौं, फागुन २९ : एमालेका उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने बताएका छन् ।   शनिबार...
मन्त्री र सांसद पद गएपनि प्रधानमन्त्रीको साथ छोडिन्न : उर्जामन्त्री रायमाझी 

काठमाडौं, फागुन २९ : एमालेका उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने बताएका छन् ।   

शनिबार रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका हुन्।   

रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनैपनि हालतमा नछाड्ने बताए । उनले भने,‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।’

उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी छ’ भन्ने संज्ञा दिए । उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए । 

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजिने भन्दै छिट्टै कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबीच सरकार गठनबारे समझदारी हुने बताए । उनले संसद विघटनजस्तो प्रतिगमनकारी कदम चालेका प्रधानमन्त्री ओलीले अहिलेपनि आफ्नो निरन्तरताको लागि प्रयास गरिरहेको बताए ।  

संसद् पूनःस्थापना भएपछि र सर्वोच्च अदालतको पछिल्लो फैसलाले  एमाले र माओवादी केन्द्र अलग अलग भएपछि जसपा नेपाल, सत्ता समिकरणको लागि ‘किङ मेकर’ को भूमिकामा रहेको उल्लेख गर्दै खड्काले प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री दिने भनेर ललिपप देखाएको पनि टिप्पणी गरे । 

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले कसैलाई पनि म्यानेज गर्न नसक्ने ठोकुवा गरेका गरे । प्रधानमन्त्रीले संसद् पूनःस्थापना भएपछि तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा त्यसो नगरी स्वेच्छाचारी ढंगले अघि बढेको उनको टिप्पणी छ । 

यसैगरी, कार्यक्रममा बोल्दै जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सबैसँग छलफलमा रहेकोले अहिले एमाले, नेपाली कांग्रेस र  माओवादी केन्द्रसँग निरन्तर छलफलमा रहेको बताएका छन् । आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन हुनुपर्ने आफूहरुको मुख्य एजेण्डा रहेको पनि उनले सुनाए । 

नेता कर्णले आफूहरुसँगको छलफलमा प्रधानमन्त्री ओली सकारात्मक रहेको पनि प्रतिक्रिया दिए । उनले भने,‘हाम्रो माग र मुद्दामा उहाँले म सकारात्मक छु भन्नुभएको छ । तर, ठोस सहमति भएको छैन् । तर, उहाँले मुद्दा फिर्ता र कैदी बन्दी रिहाईको लागि संविधान र कानूनअनुसार अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।’ 

उनले आफूहरु संसदको पूरा कार्यकाल नै संसद चल्नुपर्छ भन्ने पक्षमा रहेको सुनाए । यद्धपी संसद चल्नै सक्ने अवस्था भएन भने निर्वाचनबाट भागेर पनि नजाने उनको प्रतिक्रिया थियो । 
 

प्रकाशित मिति: १६:१३ बजे, शनिबार, फागुन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्