Kathmandu Press

कलिलै उमेरमा लभ म्यारिज, सन्तान भएपछि विच्छेद

केही दिनअगाडि एक युवा जोडी सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालत पुगे। उनीहरू सानो कुरामा झगडा गरेको देखिन्छ। श्रीमतीले सामाजिक सञ्जालमा अन्य पुरुषसँग तस्बिर राखेपछि श्रीमानले केरकार गरेछन् र झगडा बढेछ।
कलिलै उमेरमा लभ म्यारिज, सन्तान भएपछि विच्छेद

काठमाडौं, फागुन २९ : सोमबार काभ्रेपलाञ्चोक कोशीपारि स्थायी घर भई काठमाडौं बस्र्दै आएकी ३२ वर्षीय मुना तामाङ काठमाडौं जिल्ला अदालतमा भेटिइन्। अदालतभित्र प्रतीक्षालयको कुर्सीमा बसिरहेकी उनको साथमा १०–११ वर्षका बालक पनि थिए। 

उनी बोल्ने मुडमा भएजस्तो लाग्दैनथ्यो। तैपनि मैले सोधेँ, ‘दिदी, केका लागि आउनुभएको होला ?’ 

दिदी सम्बोधन गरेपछि आत्मीय महसुस गरेर होला, उनी बोलिन्, ‘मुद्दा चलिरहेको छ।’ 

Hardik ivf

‘केको मुद्दा ?’

उनले सानो स्वरमा भनिन्, ‘सम्बन्ध विच्छेदको।’ 
‘बाबु पनि हजुरकै हो ?’ 

उनले छोराको कपाल सुमसुुम्याउदै भनिन्, ‘हो। श्रीमानले अर्की विवाह गरेको पाँच–सात वर्ष भइसक्यो। उनका श्रीमानले दोस्रो बिहे गरेपछि आएको कानुन ‘मुलुकी देवानी संहिता, २०७४’ अनुसार भने बहुविवाह गर्न पाइँदैन। तर पति वा पत्नीले कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएमा दोस्रो विवाह गर्न पाइने प्रावधान छ। 

‘हाम्रो लभ म्यारिज भएको हो,’ मुना भन्छिन्, ‘विवाह भएकोे १० वर्ष श्रीमानलाई अरु नै मन पर्न थाल्यो। छोरी मान्छेलाई पो गाह्रो छ। छोरा मान्छेलाई त के भयो र ! म पनि अब सम्बन्धविच्छेद गरेर स्वतन्त्र हुन चाहन्छु।’ 

श्रीमानले दोस्रो विवाह गरेदेखि उनी छोरालाई लिएर बेग्लै बस्दै आएकी थिइन्। मुना भन्छिन्, ‘माइतीबाट पनि सम्बन्धविच्छेद गरे हुन्छ भन्ने कुरा आयो। त्यसैले मुद्दा दर्ता गराएकी हुँ।’

अंशबण्डासहितको सम्बन्धविच्छेद गर्नुपर्ने भएकाले अदालतमा धेरै दिन धाउनुपरेको उनले बताइन्। उनका छोरा कक्षा ४ मा अध्ययनरत छन्। सम्बन्धविच्छेद गरेपछि छोराको भविष्यका लागि वैदेशिक रोजगारीमा जाने उनको सोच छ। 

०००

प्रतीक्षालयमा एक महिला र पुरुष बसिरहेका थिए। उनीहरू दुवै आ–आफ्नो मोबाइल व्यस्त थिए। 

उनीहरू पनि सम्बन्धविच्छेदका लागि आएका रहेछन्। उनीहरूले पाँच वर्षअघि विवाह गरेका रहेछन्। नाम र ठेगाना बताउन नचाहने दुवैमध्ये पुरुषले भने, ‘अहिले दिनहुँ झगडा हुन्छ। वकिल आउँदै हुनुहुन्छ, हामीले उहाँलाई कुरिरहेका छौँ। आज अन्तिम सुनुवाइ छ।’ 

ती पुरुषको फोन आयो, उनी कुर्सीबाट उठेर प्रवेश गेटतर्फ लागे। महिला भने बोल्न चाहिनन्।

काठमाडौं : ९५५० 

काठमाडौं जिल्ला अदालतमा विभिन्न मुद्दाका लागि मानिसको भीड नै हुन्छ। त्यो भीडमा सम्बन्धविच्छेदका लागि आउने पनि कम हुँदैनन्। यहाँका सूचना अधिकारी नरेन्द्रकुमार शर्माका अनुसार, पछिल्लो समय सम्बन्धविच्छेदको मुद्दा बढ्दो छ। उनी भन्छन्, ‘प्रेमविवाह भएका युवायुवती धेरैजसो सम्बन्धविच्छेदका लागि आउँछन्।’ 

काठमाडौं जिल्ला अदालतमा ०७४/७५ यता नौ हजार पाँच सय ५० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको देखिन्छ। 

उपत्यकामा विभिन्न जिल्लाबाट आएर बसोबास गर्छन्। स्थायी घर जहाँ भए पनि १५ दिनभन्दा बढी बसोबास गरेमा सोही जिल्लामा गएर सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन पाउने व्यवस्था छ। त्यसैले उपत्यकामा धेरै सम्बन्धविच्छेदको मुद्दा दर्ता हुने गर्छ। 

सूचना अधिकारी शर्माका अनुसार, चालू आर्थिक वर्षको फागुन १६ गतेसम्म एक हजार ६ सय ७५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। जसमा साउन महिनामा २२८, भदौमा २८, असोजमा २९७, कात्तिकमा १०८, मंसिरमा २३६, पुसमा ३३९, माघमा २६२, फागनुमा १६ गतेसम्म १७७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। 

शर्मा भन्छन्, ‘यस वर्ष सम्बन्धविच्छेदको मुद्दा बढी नै देखिन्छ।’

त्यस्तै,  यस अदालतमा ०७४/७५ मा ३ हजार २३, ०७५/७६ मा २ हजार ७ सय ७५ र ०७६/७७ मा २ हजार ७७ सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएका छन्। 

शर्माका अनुसार, मुद्दा दर्ता गर्न आउनेमा पुरुषभन्दा महिला बढी हुन्छन्। अदालतमा दर्ता भइसकेको सम्बन्धविच्छेदका २ प्रतिशत मुद्दा मात्र सहमतिमा पुगेर टुंगिन्छन्, अर्थात् दम्पती छुटिँदैनन्। बाँकी ९८ प्रतिशत मुद्दा सम्बन्धविच्छेदमै टुंगिने शर्माको भनाइ छ। 

ललितपुर : १४४१ 

आर्थिक वर्ष ०७४÷७५ यता ललितपुर जिल्ला अदालतमा एक हजार चार सय ४१ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका बताउँछन्। यस अदालतका शाखा अधिकृत नवीन कोइरालाका अनुसार, पछिल्लो समय हरेक दिन चार–पाँचवटा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन्। 

‘सम्बन्ध विच्छेदको मुद्दा बढ्दो छ,’ उनी भन्छन्, ‘सामान्य झगडामा पनि सम्बन्ध विच्छेद हुन थालेको देखिन्छ।’ उनका अनुसार सम्बन्धविच्छेदका लागि अदालत आएका कमै व्यक्ति मात्र मिलेर फर्कने गर्छन्, अर्थात् सम्बन्धविच्छेद गर्दैनन्। सम्बन्धविच्छेद गर्ने कतिपय अंशबन्डासहित छुट्टिन्छन् भने कतिले अंश नलिई छुटिने गरेका छन्। 

चालू आर्थिक वर्षको फागुन २० गतेसम्म यहाँ ३४२ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। अधिकृत कोइरालाका अनुसार, २०७४/७५ मा ३३०, ०७५/७६ मा ४३३ र ०७६/७७ मा ३३६ मुद्दा दर्ता भए। 

सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा प्रेमविवाह र समाजिक सञ्जालको दुरुपयोग भएको उनी बताउँछन्। 

भक्तपुर : ८५३ 

भक्तपुर जिल्ला अदालतमा ०७४/७५ यता आठ सय ५३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। 

अदालतका सूचना अधिकारी विमल पराजुलीका अनुसार, चालू आर्थिक वर्षमा यहाँ ७५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भए। त्यस्तै, ०७४/७५ मा २०३, ०७५/७६ मा ३६७ मुद्दा दर्ता र ०७६/७७ मा २०८ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्।

तथ्यांक हेर्दा ०७४ साउनयता उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा ११ हजार ८ सय ४४ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको देखिन्छ। 

देशभरिको सम्बन्धविच्छेद अवस्था जान्न सबै जिल्लाको तथ्यांक हेर्नुपर्ने हुन्छ। यद्यपि, देश राजधानी रहेको उपत्यकामा जति सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्, यिनले सम्बन्ध विच्छेदको अवस्था डरलाग्दो भएको देखाउँछ। 

किन हुन्छ सम्बन्धविच्छेद ?

गत साता काठमाडौंवासी ४० वर्षीया एक नेवार समुदायकी महिला सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालत पुगिन्। आफूले घरमा दैनिक रुपमा भाँडा माझ्ने लगायत काम गर्नुपरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराइन्। दुई छोराछोरी भएकी उनले २१ वर्षअगाडि जात मिल्ने पुरुषसँग प्रेमविवाह गरेकी थिइन्। 

कानुन व्यवसायी तथा अधिवक्ता नन्दुराज आचार्य भन्छन्, ‘सुरुमा हामीले उनलाई सम्झायौँ– सामान्य झगडामा सम्बन्धविच्छेद गर्न हुँदैन। तर, उनले सम्बन्धविच्छेद गर्ने अन्तिम निर्णय लिइसकेकी रहिछन्। सम्झाउँदा पनि नमानेपछि कानुनी प्रक्रिया अगाडि बढाई  सम्बन्धविच्छेद गराइयो।’ 

फागुनको तेस्रो साता नवलपुर घर भएकी तर अस्थायी रूपमा काठमाडौं बस्दै आएकी ३५ वर्षीया महिला पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न काठमाडौं जिल्ला अदालत पुगिन्। उनी छोराछोरीलाई अध्ययन गराउन काठमाडौं बस्दै आएको रहिछिन्। सवारी चालक रहेका श्रीमान्ले आर्थिक रूपमा सहयोग नगरेको उनको गुनासो थियो। 

आचार्य भन्छन्, ‘उनीहरूका पनि दुवै पक्षलाई सम्झाउन खोज्यौँ, मिल्न चाहेनन्।’

त्यस्तै, केही दिनअगाडि एक युवा जोडी सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालत पुगे। उनीहरू सानो कुरामा झगडा गरेको देखिन्छ। श्रीमतीले सामाजिक सञ्जालमा अन्य पुरुषसँग तस्बिर राखेपछि श्रीमानले केरकार गरेछन् र झगडा बढेछ। आचार्य भन्छन्, ‘भागेर विवाह गरेका रहेछन्। हामीले उनीहरूलाई पढ्ने समयमा मिलेर अध्ययन गर्न आग्रह ग¥यौँ। दुई दिनसम्म सुनुवाइ गरियो। उनीहरू सँगै बस्न मानेनन्।’ 

कानुन व्यवसायी तथा अधिवक्ता मदनप्रसाद फुयालका अनुसार, धेरै वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषको सम्बन्धविच्छेद हुने गरेका देखिन्छ। 

वैदेशिक रोजगारीमा महिला तथा पुरुष जो गए पनि पति वा पत्नीमाथि शंका गर्दै र विवाद बढ्दै गएपछि सम्बन्धविच्छेदसम्म आइपुग्ने फुयाल बताउँछन्। 

त्यस्तै, अध्ययनका लागि अन्य देश जान कतिपयले कानुनी विवाह गर्ने गर्छन्। अध्ययन सकेर फर्किएपछि उनीहरू कतिपयले सम्बन्धविच्छेद गर्छन्। 
अधिवक्ता फुँयाल भन्छन्, ‘सम्बन्धविच्छेद हुने धेरै कारणमा श्रीमानश्रीमतीबीच शंका, प्रेमविवाह, बालविवाह, आयआर्जन, उमेर ग्याप, वैदेशिक रोजगारी नै देखिन्छ।’ 

लेखक तथा विश्लेषक आहुतिका अनुसार, जसरी विवाह हुन भावनात्मक रुपमा नजिक हुनुपर्छ, त्यसरी नै सम्बन्ध–विच्छेद हुन भावनात्मक रुपमा मतभेद हुनुपर्छ। उनका अनुसार, सम्बन्ध–विच्छेदलाई बुझ्न स्वाभाविक सम्बन्ध–विच्छेद, पुरुषको अन्यायले निम्त्याएको सम्बन्ध–विच्छेद र पितृसत्तात्मक संरचना, सामाजिक विघटन लगायतले निम्त्याएको सम्बन्ध–विच्छेदलाई विश्लेषण गर्नुपर्छ।

यो पनि पढ्नुहोस् :

सम्बन्ध–विच्छेद र दोस्रो विवाह कसरी हुन्छ ?  
 

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, फागुन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्