Kathmandu Press

असिना पानीले नवलपुरमा दुई करोडको इँटा नष्ट

कावासोती, फागुन २९ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा असिना पानीका कारण करीब दुई करोड रुपैयाँ बराबरको इँटा नष्ट भएको छ । गत बुधबार साँझ...
असिना पानीले नवलपुरमा दुई करोडको इँटा नष्ट


कावासोती, फागुन २९ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा असिना पानीका कारण करीब दुई करोड रुपैयाँ बराबरको इँटा नष्ट भएको छ । गत बुधबार साँझ परेको असिनासहितको पानीले नवलपुरमा रहेको इँटा उद्योगमा एक करोड ८० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । 

हावाहुरी, पानी र असिना परेका कारण पोल्ने अवस्थामा तयारी रहेका काँचा इँटामा क्षति भएको नवलपुर इँटा सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिए । नवलपुरमा अहिले आठ  इँटा उद्योग सञ्चालनमा छन् । सबै इँटा उद्योगमा गरेर पोल्नका लागि तयारी अवस्थामा रहेका ४० लाख काँचो इँटा नष्ट भएको उनले बताए ।

‘हावाहुरीले चाङ पल्टाउने र पानी आउने एकैसाथ हुँदा क्षति बढी भयो’, केसी इँटा उद्योग कावासोतीका सञ्चालक अशोक केसीले भने, ‘पानीले गलाउथ्यो, अझ असिनाले त काँचो इँटामा प्वाल पारेर धेरै क्षति भयो ।’

जिल्लाका इँटा उद्योग रहेको स्थानको भू–बनावटका कारण बढी क्षति हुने गरेको नवलपुर इँटा सङ्घका सचिव गौतमले बताए । सबै इँटा उद्योगमा पानी जम्ने समस्याका कारण एक्कासी आउने पानीले बढी क्षति हुने गरेको उनले बताए ।

पोल्ने अवस्थामा तयरी रहेका काँचो इँटा नष्ट हुँदा वर्षेनी इँटा व्यवसायीले ठूलो क्षति भोग्नुपरेको उनले बताए। अन्य व्यवसायको बीमा भए पनि इँटाको बीमा नहुँदा क्षतिमा राहत पाउने अवस्था नभएको नवलपुर उद्योग सङ्घका अध्यक्षसमेत रहेका गौतमले बताए । बीमा नीति बनाएर भए पनि व्यवसायीले भोग्नुपरेको क्षति न्यूनीकरणका लागि सरकारले पहल गर्नुपर्ने उनले बताए ।

नवलपुरमा नारायणी इँटा उद्योग, माता मनकामना इँटा उद्योग, केसी इँटा उद्योग, नेपाल इँटा उद्योग, कावासोती इँटा उद्योग, देवचुली इँटा उद्योग, मनोकामना इँटा उद्योग र कावा इँटा उद्योग सञ्चालनमा रहेका छन् । 

प्रकाशित मिति: १३:४० बजे, शनिबार, फागुन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्