यती र तारा एयरलाइन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा
काठमाडौं, जेठ १९ : यती र तारा एयरलाइन्सको जिम्मेवारी आङछिरिङ शेर्पाकी पत्नी चन्दा शेर्पाले सम्हालेकी छन्। तीन महिना अघि प्रबन्ध निर्देशक आङछिरिङको निध....
काठमाडौं, जेठ १९ : यती र तारा एयरलाइन्सको जिम्मेवारी आङछिरिङ शेर्पाकी पत्नी चन्दा शेर्पाले सम्हालेकी छन्। तीन महिना अघि प्रबन्ध निर्देशक आङछिरिङको निधन भएपछि उक्त पद रिक्त थियो।
एयरलाइन्सको अध्यक्षमा भने उनका जेठाजु (आङछिरिङका दाजु) सोनाम शेर्पा नै छन्। उनी सुरूआतदेखि नै अध्यक्ष रहँदै आएका छन्।
यती र तारा एयरलाइन्सको नवनियुक्त प्रबन्ध निर्देशक चन्दा यस अघि उनी हिमालयन सोसाइटी ट्राभल हेर्दै आएकी थिइन्।
अहिले यती र तारा एयरलाइन्समा नौ सय कर्मचारी कार्यरत छन्। पहाडी क्षेत्रमा हवाई यातायातको सेवा दिँदै आएको तारा एयरले चार वटा टुइनअटर र दुई वटा डोर्नियर डिओ एयरक्राफ्टबाट सेवा सञ्चालन गर्दै आएको छ।
सन् १९९८ मा शेर्पा दाजुभाइ मिलेर यती एयरलाइन्स स्थापना गरेका थिए। सन् १९९८ को सेप्टेम्बरमा यतीको ट्विनअटर जहाजले व्यवसायिक उडान गरेको थियो।
तारा एयरले काठमाडौंबाट लुक्ला, फाप्लु, लामीडाँडा, रुम्जाटार, रामेछाप र भोजपुरका लागि उडान गर्दै आएको छ। त्यस्तै, पोखराबाट जोमसोमका साथै नेपालगन्ज र सुर्खेतबाट डोल्पा, जुम्ला, बाजुरा, सिमीकोट, रारा, रुकुम र बझाङमा हवाई सेवा सञ्चालन गरिरहेको छ।
यती एयरलाइन्सले हाल ७२ सिट क्षमताका चार वटा एटीआर ७२–५०० र २९ सिटे ६ वटा ‘जेटस्ट्रिम–४१’ जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइटका साथै पोखरा, नेपालगन्ज, भैरहवा, भद्रपुर, जनकपुर, विराटनगर, भरतपुर र तुम्लिङटारका लागि दैनिक २५ देखि ३० उडान गर्दै आएको छ।











