सिटामोल नपाइने गाउँमा विशेषज्ञ सेवा
कालीकोट। फागुन २८ : कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ । सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको...
कालीकोट। फागुन २८ : कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ ।
सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो । हरेक क्षेत्रमा पछाडि परेको पलाँता गाउँपालिकामा अहिले शल्यक्रियासहितको विशेषज्ञ सेवा दिन थालिएको छ ।
नेपाल सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजनासहित अस्पतालको शिलान्यास भएपछि गाउँमा नै विशेषज्ञ सेवा दिन थालिएको हो । गाउँमा पहिले ज्वरो आउँदा सिटामोलसमेत नपाइने गरेको अहिले गाउँमा नै चिकित्सकसहित विशेषज्ञ सेवा सञ्चालन आएपछि सजिलो भएको पलाँता गाउँपालिका–९ का राजबहादुर बमले बताए । ‘पहिलो औषधि नाममा सिटामोलसमेत पाइँदैनथ्यो । जडीबुटी र धामीझाँक्रीको भर पर्नुपथ्र्यो’, उनले भने, ‘अहिले गाउँमा डाक्टरसहितको विशेषज्ञ सेवा सञ्चालन आएपछि सहज भएको छ ।’
गाउँ जटिल खालका बिराम लागेर बसेकाहरुले अहिले औषधि उपचारका लागि स्वास्थ्य सेवा कार्यालयमा आउन थालेको र गाउँ नै शल्यक्रियासहितको उपचार हुन थालेको स्थानीय नरबहादुर रोकायाले बताए । ‘घाउ खटिरा आउँदा पनि उपचार पाएका थिएनौँ’, उनले भने, ‘अहिले गाउँमा नै विभिन्न रोगको सहजै उपचार पाउने गरेका छौँ ।’
सामान्य बिरामी हुँदा सिटामोलसमेत नपाउने गरेको ठाउँमा अहिले विशेषज्ञ सेवा सञ्चालन गरिएको पलाँता अस्पतालका डा विजयकुमार महतोले बताए । ‘दुर्गम ठाउँ भएकाले यहाँका स्थानीयवासीले सिटामोलसमेत पाउने गरेका थिएनन्’, उनले भने, “अहिले जटिलखालका बिरामीको शल्यक्रिया गर्न थालेका छौँ ।’
गाउँपालिकाले स्वास्थ्य शिक्षामा पछाडि परेको गाउँपालिकालाई स्वास्थ्य सेवा, शिक्षालगायतका क्षेत्रमा पहुँच वृद्धि गर्ने उद्देश्यले काम गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘स्वास्थ्य क्षेत्रमा अहिले आमूल परिवर्तन गर्न त सक्दैनौँ’, उनले भने, ‘तर, अरू केही गर्न नसकिए पनि गाउँमा विशेषज्ञ सेवासहित डाक्टर गाउँमा नै राखिएको छ।’ गाउँमा नै औषधि उपचार पाउन थालेपछि पलाँताका स्थानीयवासी उपचारका टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।











