Kathmandu Press

नेपाली एसिड पीडितका लागि बेलायती राजदूत सगरमाथामा दौडिए

काठमाडौं, जेठ १८ : नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले एसिड पीडित नेपालीको उपचारका लागि आर्थिक सहयोग जुटाउन एभरेस्ट म्याराथुन दौडमा भाग लि....

नेपाली एसिड पीडितका लागि बेलायती राजदूत सगरमाथामा दौडिए
रिचर्ड मोरिस–ट्वीटर

काठमाडौं, जेठ १८ : नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले एसिड पीडित नेपालीको उपचारका लागि आर्थिक सहयोग जुटाउन एभरेस्ट म्याराथुन दौडमा भाग लिएका छन्।

विश्वको सबैभन्दा उच्च स्थानमा हुने एभरेस्ट म्याराथनमा भाग लिन राजदूत मोरिस १० दिन लामो पदयात्रा गर्दै सगरमाथा आधार शिविर पुगेका थिए। यसै साता आयोजित ४२ किलोमिटर लामो एभरेस्ट म्याराथन दौड उनले ७ घण्टा ५१ मिनेटमा पूरा गरेका थिए। एभरेस्ट म्याराथन सगरमाथा आधार शिविरबाट सुरू भई नाम्चे बजारमा टुङ्गिन्छ।

जहाँ गए पनि दौडिन मन पराउने र आफूलाई ‘धावक’ भन्ने राजदूत मोरिस यसपालि भने दुई बेग्लाबेग्लै संस्थालाई सहयोग गर्न दौडिएका थिए।

एभरेस्ट म्याराथनको क्रममा संकलित सबै रकम एसिड पीडित नेपालीको उपचारमा संलग्न बर्न भाइलेन्स सर्भाइभर नेपाल (बीभीएसएन) र विभिन्न कारणले अनुहार बिग्रिएका मानिसको उपचारमा संलग्न बेलायती संस्था चेञ्जिङ फेसेजलाई प्रदान गरिने राजदूत मोरिसले बताएका छन्।

आफ्नो म्याराथन दौडका लागि आर्थिक सहयोग जुटाउन राजदूत मोरिसले जस्टगिभिङडटकम नामक फन्डरेजिङ साइटमा बेग्लै पेज बनाएका थिए।

यो पनिः एसिड पीडित जेनी खड्काको उपचारमा आर्थिक समस्या

राजदूत मोरिसले न्यूनतम ५०० पाउन्ड (करिब ७० हजार रुपैयाँ) उठाउने लक्ष्य लिएका थिए। तर, उनलाई हालसम्म ३५ जना शुभेच्छुकहरूले १६ सय ६८ पाउन्ड (करिब दुई लाख ३४ हजार रुपैयाँ) प्रदान गरिसकेका छन्।

जस्टगिभिङडटकम मार्फत पैसा जुटाउन खोलेको पेजमा राजदूत मोरिसले सगरमाथा आधार शिविर जाँदाजाँदै पनि केही यात्रा बिवरणहरू राखेका थिए।

५ हजार १६४ मिटर अग्लो गोरक सेपबाट उनले जस्टगिभिङडटकम को पेजमा लेखेका थिए – ‘यहाँबाट पर सगरमाथा आधार शिविर देखिन्छ। सानो काम गर्दा पनि सास फेर्न गाह्रो पर्छ। सुत्न पनि गाह्रो पर्छ।’

म्याराथन पूरा गरेपछि उनले लेखेका छन् – ‘सकियो। १० दिन लामो पदयात्रा र दौडको क्रममा अद्भूत दृश्य र गज्जब मित्रता अनुभव गर्न पाइयो। सम्पूर्ण प्रायोजकहरूको उदारताप्रति नमन।’

नेपालमा एसिड आक्रमणमा पर्नेमा प्रायः महिला छन्। पछिल्लो समय गत जेठ १ गते दोलखाकी जेनी विकलाई काठमाडौंको कालोपुलमा उनकै पति विष्णु भुजेलले एसिड प्रहार गरेका थिए।

जेनी र जेनीजस्ता एसिड पीडितले उपचारमा आर्थिक समस्या झेल्नुपरिरहेका बेला बेलायती राजदूत मोरिसले एसिड पीडितलाई सहयोग गर्ने संस्थालाई सघाउन एभरेस्ट म्याराथन दौडेका हुन्। 

याे पनि :काठमाडौंको कुरुप अनुहार

प्रकाशित मिति: १८:२७ बजे, शनिबार, जेठ १८, २०७६