Kathmandu Press

नेप्से पुगेर सेयर लगानीकर्ताले भने– अनिवार्य प्यान मान्दैनौं 

काठमाडौं, माघ ११ः सेयर कारोबारमा प्यान नम्बर अनिवार्य गर्ने नेपाल धितोपत्र बोर्डको निर्णयको लगानीकर्ताहरूले चर्को विरोध गरेका छन् ।

नेपाल स्टक एक्सचेन्स (नेप....

नेप्से पुगेर सेयर लगानीकर्ताले भने– अनिवार्य प्यान मान्दैनौं 

काठमाडौं, माघ ११ः सेयर कारोबारमा प्यान नम्बर अनिवार्य गर्ने नेपाल धितोपत्र बोर्डको निर्णयको लगानीकर्ताहरूले चर्को विरोध गरेका छन् ।

नेपाल स्टक एक्सचेन्स (नेप्से)द्वारा शुक्रबार आयोजित छलफलमा लगानीकर्ता संघका प्रतिनिधिहरूले प्यान नम्बर अनिवार्य गर्न लागेको प्रति आपत्ति जनाएका हुन् ।   

नेपाल धितोपत्र बोर्डले गत कार्तिक १५ गते आगामी बैशाख १ गतेदेखि प्यान अनिवार्य लागु गर्न नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि नेप्सेले पनि शुक्रबार छलफलका लागि लगानीकर्ता संघका प्रतिनिधि बोलाएको थियो । छलफलमा लगानीकर्ताहरूले सरकार नै प्रायोजित रुपमा सेयर बजार घटाउन लागेको आरोप लगाएका छन् । 

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्यान नम्बरको हल्ला चलाएर सेयर बजार घटाउन पुनः  खेल सुरु भएको आरोप लगाएकी छन् । “यो निर्णय कार्यान्वयन भए पूँजी बजार ओह्रालो लाग्नेछ,” पोखरेलले भनिन् । आतबारदेखि नै कारोबार असर पर्ने भन्दै लगानीकर्ताहरूले यस्तो निर्णय तत्काल सच्याउन आग्रह गरेको पोखरेलले जानकारी दिइन् । प्यान नम्बरबाट कारोबार हुनु राम्रो भए पनि अहिले बजार घटेको बेला यस्तो निर्णय आउनुले सकारात्मक सन्देश नजाने तर्क पोखरेलको छ ।   

छलफलपछि नेप्सेले एक विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरूलाई हतोत्साहित नहुन आग्रह गरेको छ । 
यो व्यवस्था लागु भए लाखौ लगानीकर्ताले प्यान नम्बर लिनुपर्ने हुन्छ । सेयर बजारमा १५ लाख लगानीकर्ता भएको अनुमान छ । 

आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा बोर्डले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले अनिवार्य प्यान नम्बर लिनुपर्ने उल्लेख गरेको थियो । बोर्डको नीति तथा कार्यक्रममा भएको विषयलाई कार्यान्वयनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको छ । 
 

प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, माघ ११, २०७५