महारुद्र थानलाई पर्यटकीय गन्तव्य बनाइने
पोखरा, फागुन २७ : पोखरा महानगरपालिका-३३ बरपाण्डेथुमस्थित ३२५ वर्ष पुरानो महारुद्र थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल थालिएको छ।धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लम्जुङलगायत हिमालका...
पोखरा, फागुन २७ : पोखरा महानगरपालिका-३३ बरपाण्डेथुमस्थित ३२५ वर्ष पुरानो महारुद्र थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल थालिएको छ।
धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लम्जुङलगायत हिमालका साथै पोखरा र लेखनाथका रमणीयतालसहित अन्य भूभाग एकसाथ अवलोकन गर्न सकिने यस ठाउँको प्रवर्धन र विकासका लागि पहल थालिएको हो।
धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्दै यसलाई पर्यटकीय नगरी पोखराको अर्को महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न ऋषेश्वर भुवाइ (ऋतु) को अध्यक्षतामा महारुद्र पर्यटन प्रवर्धन समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा राधिका आचार्य, सचिवमा मनु कार्की, सहसचिवमा दीपेन्द्र आचार्य र कोषध्यक्षमा केशवराज आचार्य छन्।
समितिको सदस्यमा भोजराज शर्मा पौडेल, जगतराज आचार्य, गोविन्दराज लम्साल, गोपाल गुरुङ, कृष्णप्रसाद आचार्य, मीना भण्डारी आचार्य र लीला नेपाली रहनुभएको छ । समितिले समाजका २५ उच्च प्रतिष्ठित व्यक्तिलाई सल्लाहकारका रूपमा चयन गरेको छ।
महारुद्र थानको विशिष्ट ऐतिहासिक महत्व रहेको बताउँदै अध्यक्ष भुवाइले विभिन्न अध्ययन तथा अनुसन्धानबाट ३२५ वर्षअघि जुम्लाबाट आएका एक व्यक्तिले महारुद्रको शिलालाई झोलामा बोकेर ल्याई यहाँ स्थापना गरेको पाइएको जानकारी दिए।
बरपाण्डेथुम र आसपासका सर्वसाधारणले आराध्यदेवका रूपमा परापूर्वकालदेखि पूजाआजा गर्दै आइएको महारुद्र थानमा आगामी दिनमा शिव महापुराण लगाउँदै विशाल महारुद्रको मूर्तिसहितका संरचना निर्माण गर्ने दीर्घकालीन लक्ष्य लिइएको उनले बताए।
लामो समयदेखि सामान्य रूपमा शिला पूजा गर्दै आइए पनि २०२५ सालमा सानो ढुङ्गाले छाएको मन्दिर स्थापना गरिएको र २०५४ मा हालको मन्दिर निर्माण गरिएको जनाइएको छ।











