ताजा जनादेशका लागि तयार रहनुस् : उपप्रधानमन्त्री पोखरेल
पर्सा, फागुन २७ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थताको अन्त्य र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । उनले...
पर्सा, फागुन २७ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थताको अन्त्य र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । उनले भने,‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।’
प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्ने बताए ।
पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे । उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिए।
उनले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितीको चाँडै अन्त्य हुने प्रतिबद्धता व्यक्त गरे । उनले ठेक्का सरकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गर्ने जानकारी दिए।











