नेपालमा अब कुनै प्रकारको हिंसा र अशान्ति छैन : प्रधानमन्त्री
काठमाडौं, फागुन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको हिंसा र अशान्ति नरहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ...
काठमाडौं, फागुन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको हिंसा र अशान्ति नरहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताए ।
हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उनले पृथकतावादी सोचलाई समेत टुंग्याइएको बताए । ‘हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ’, प्रधानमन्त्री ओलीले भने, घअब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।’ यसका लागि सुरक्षा परिषद्को नीतिले पनि उल्लेख्य काम गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पारे। छिमेकी देशसितको सम्बन्ध सुमधुर बनाइएको जनाउँदै उनले केही समस्या भए वार्ताका माध्यमबाट नै हल गरिने स्पष्ट पारे । उथलपुथल र उतारचढावका समयमा परिषद्को सचिवालयको स्थापना भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले हासिल गरिएका अनुभवका आधारमा काम गर्दै अघि बढ्न सुझाव दिए ।
नेपाली सेनाको परिचालन र प्रयोग सही ढङ्गले हुँदै आएको बताउँदै उनले नेपाल विश्वमा शान्ति स्थापनाका पक्षमा रहेको स्पष्ट पारे। ‘ठूलो होस् वा सानो देश, विश्वमा न्यायोचित हकको रक्षाका लागि मात्र सेना परिचालन गरिनुपर्छ’, ओलीले भने। विश्वमा अर्काको अहित हुने गरी सेनाको परिचालन गर्न नहुनेमा उनले जोड दिए।
असहज र अप्ठयारो अवस्थामा सेनाको प्रयोग गरिँदै आएको प्रसङ्ग जनाउँदै प्रधानमन्त्री ओलीले सुरक्षा, सेवा र निर्माणका काममा सेना अहोरात्र खटिँदै आएको स्मरण गरे । अन्तरराष्ट्रिय क्षेत्रमा समेत नेपाली सेनाले शान्ति स्थापनार्थ उल्लेखनीय योगदान दिँदै आएको बताउँदै ओलीले भने, ‘सेनाले आफू जोखिम मोलेर भए पनि शान्ति स्थापनाका लागि काम गर्दै आएको छ ।’
सो अवसरमा ओलीले परिषद्को सचिवालयको हाताभित्र वृक्षरोपणसमेत गरेका थिए । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परिषद्का सदस्य गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव एवं परिषद्का सदस्य–सचिव रेश्मीराज पाण्डे, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । परिषद् सचिवालयको स्थापना २०५८ फागुन २७ गते गरिएको हो ।











