सोचिएभन्दा हजारौं वर्षअघि नै युरोपबाट लोप भएका थिए नियान्डथल्स
गत सोमबार एउटा नयाँ अध्ययनले बेल्जियमको गुफामा पाइएका नियान्डथल जीवाश्महरू युरोपमा फेला परेका आफ्नो प्रजातिको अन्तिम जीवित नियान्डथल हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ ।...गत सोमबार एउटा नयाँ अध्ययनले बेल्जियमको गुफामा पाइएका नियान्डथल जीवाश्महरू युरोपमा फेला परेका आफ्नो प्रजातिको अन्तिम जीवित नियान्डथल हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ । यी नियान्डथल जीवाश्म विज्ञानको हालसम्मको खोजभन्दा हजारौँ वर्ष पुरानो भएको उनीहरूको विश्लेषण छ ।
पछिल्लो रेडियो कार्बन डेटिङले देखाएअनुसार स्पाई गुफाबाट उत्खनन् गरिएको नियान्डथल जीवाश्मको आयु करिब २४ हजार वर्ष पुरानो हो । तर, नयाँ परीक्षणले यो नियान्डथल जीवाश्मको आयुलाई अझै पुरानो हुन सक्ने देखाएको छ । यो अवशेष त्यसभन्दा करिब ४० हजार ६ सयदेखि ४४ हजार दुई सय वर्ष पुरानो हुन सक्ने अनुमान छ ।
यो अनुसन्धान रिपोर्ट अमेरिकाको नेसनल एकेडेमी अफ साइन्समा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको हो । यो अनुसन्धानमा बेल्जियम, बेलायत र जर्मनीका वैज्ञानिक सहभागी थिए ।
अक्सफोर्ड र एक्स–मार्सिली युनिभर्सिटीका लागि को–लिड अथर टिबोउ डेभिसले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार उनी र उनका सहकर्मीले नमूनाहरू तयार पार्न हालसम्मको भन्दा अझ कडा विधि अपनाएका थिए । र, मिसावटहरूलाई अलग गरेर अझ राम्रो अनुसन्धान गरेका थिए ।
मानिसका नजिकका नातेदार कहिले लोप भए भन्ने ठोस अध्ययनमा उनीहरू केन्द्रित भएका थिए । त्यसबाट उनीहरूको प्रकृति र सामथ्र्यबारे बुझ्ने पहिलो कडी फेला परेको डेभिसको भनाइ छ । उनीहरू अन्ततः कसरी लोप भए भन्ने बुझ्न पछिल्लो अध्ययनबाट सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन् ।
अन्वेषणको यो नयाँ विधि अझै पनि रेडियो कार्बन डेटिङमा निर्भर छ । रेडियो कार्बन डेटिङलाई पुरातत्वको इतिहासमा एक सुनौलो मापदण्डका रूपमा लिइन्छ । तर, यसले नमूनाहरू एकत्रित गर्ने तरिकालाई परिष्कृत गर्छ ।
सबै जीवित वस्तुले वायुमण्डल र ती वस्तुहरूको खानाबाट कार्बन र रेडियोधर्मी बनावट कार्बन–१४ सोस्छ, जो समयको अन्तरालमा सड्छ । बोटविरुवा र जनावरले मृत्युपछि कार्बन–१४ सोस्न बन्द गर्छन् । मृत्युपछि जीवाश्ममा रहने कार्बनले त्यो जीव कति समयअघि अस्तित्वमा थियो भन्ने विश्लेषण गर्न सकिन्छ । हड्डीहरूको कुरा गर्दा वैज्ञानिकहरूले कोलेजेनले बनेको अंश निकाल्छन् किनकि यो जैविक हुन्छ ।
‘हामी अनुसन्धानमा एक कदम अगाडि बढ्यौँ,’ डेभिस भन्छन् । किनभने चिहानको दूषित वातावरणबाट वा संग्रहालयको कामका लागि प्रयोग गरिएको गमबाट नमूना बिग्रिन सक्छ । त्यसको साटो टोलीले कोलेजन निर्माण गर्ने कणको खोजी गरे । यो कणलाई एमिनो एसिड भनिन्छ । उनीहरूले विशेष रूपमा सिंगल एमिनो एसिडलाई चयन गरे । कारण– त्यसमा कोलेजनको भाग हुने निश्चित थियो ।
‘विश्वसनीय रूपरेखा’
वैज्ञानिकहरूले बेल्जियमका फोन्ड्स–डे–फोरेट र एंगिस नामक दुई स्थानबाट नियान्डथल जीवाश्मका नमूनाहरू पत्ता लगाए । र, तिनीहरूको तुलनात्मक उमेर पनि विश्लेषण गरे । ‘बेल्जियमका सबै नमूनाको समय निर्धाण गर्नु एकदमै रमाइलो थियो किनकि नियान्डथलको बुझाइ र परिभाषामा तिनको प्रमुख भूमिका थियो,’ स्केलेडिना केभ आर्कियोलोजिकल सेन्टरका वैज्ञानिक ग्रेगेरी अब्राम्सले भने, ‘एंगिसमा बालक नियान्डथल फेला परेको लगभग दुई दशकपछि विश्वासनीय उमेर प्रदान गर्न हामी सफल भयौँ ।’
२८ हजार वर्ष पुरानो नियान्डथलको काँधको हड्डी जैविक शृंखला र बोभिन डीएनएका कारण धेरै दूषित रहेको अध्ययनबाट देखिएको छ । र, जनावरको हड्डीमा हुने गमबाट सुरक्षित बनेको पत्ता लागेको छ ।
‘पुरातात्विक अध्ययनमा काल–निर्धारण महत्वपूर्ण हुन्छ । कालक्रमको भरपर्दो ढाँचाबिना हामी नियान्डथल्स र होमो सेपियन्सबीचको सम्बन्ध बुझ्ने कुरामा विश्वस्त हुन सक्दैनौँ,’ अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिक टोम हिग्यामले भने ।
केही ढुंगाका उपकरणको प्रयोग गर्ने श्रेय नियान्डथल्सलाई दिइएको छ । डेभिसका अनुसार त्यसलाई तिनीहरूको संज्ञानात्मक क्रमिक विकासका संकेतको रूपमा व्याख्या गरिएको छ । तर, यदि नियान्डथल्सको अस्तित्वको कालखण्डलाई पछाडि सारियो भने पुरापाषाण उद्योगहरू प्राक्–मनुष्य (होमिनिड) प्रजातिको देन थियो कि भनेर पुनः परीक्षणको आवश्यकता रहेको डेभिस बताउँछन् । - साइन्स अलर्ट डट कमबाट