Kathmandu Press

हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

हुम्ला, फागुन २४ : उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ। विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष...
हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

हुम्ला, फागुन २४ : उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ। विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ।

आइतबार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै आज बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ। उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयवासीले बताएका छन्।

जिल्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिहेको स्थानीयवासी शङ्कर रावलले बताए। पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताए।

बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ। फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढेपछि यहाँका स्थानीयवासी बाक्लो कपडा लगाउनुका साथै न्यानो भएर बसेका छन्।

आज बिहानैदेखि निरन्तर हिमपात हुँदा अन्तरजिल्ला जोड्ने एकमात्रै साधन हवाई यातायात अवरुद्ध भएको छ । हवाई उडान अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान सञ्चालन हुन सकेको छैन।

उडान अवरुद्ध हुँदा सिमकोटमा व्यवसाय गर्ने पसलेका सामान, निर्माण व्यवसायीका सामग्री ढुवानी ढप्प रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ। जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रु हिमपातका कारण यतै रोकिएका छन्।

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्