Kathmandu Press

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

काठमाडौं, फागुन २४ : नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् ।स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले...
भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

काठमाडौं, फागुन २४ : नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् ।

स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो ।

प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो ।

प्राधिकरणले गरेको मागअनुसार आशयपत्र बुझाएका कम्पनीमध्येबाट पाँच कम्पनीलाई छनोट गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

उनका अनुसार छनोटमा परेका कम्पनीमा फ्रान्सको युरो कन्सल्ट, दुबईको एस थ्री टेल इंक, अमेरिकाको स्पेस पार्टनरशिप इन्टरनेसनल, बेलायतको इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी असुर्यानसीटी एन्ड कन्सल्टिङ सर्भिस रहेका छन् ।

 प्राधिकरणले गत पुस २७ गते दिउँसो १२ बजेभित्र आवेदन दिन सक्ने गरी पुस १ गते उक्त आवेदन खुलाएको थियो ।आशयपत्र पेश गरेका कम्पनीबाट छनोट गरेको प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट गर्नेछ ।

४० प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिने प्रवक्ता अर्यालले जानकारी दिए।

    

 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्