जिम गर्दा स्टेरोइड प्रयोग गर्ने पुरूष बाँझोपनको सिकार हुन सक्ने
‘मसल’ बढाउनलाई ‘स्टेरोइड’ प्रयोग गर्ने पुरूषले सन्तान जन्माउने क्षमता नष्ट गरिरहेका छन्।
‘टेस्टोस्टेरोन’ पुरूष हर्माेन हो....
‘मसल’ बढाउनलाई ‘स्टेरोइड’ प्रयोग गर्ने पुरूषले सन्तान जन्माउने क्षमता नष्ट गरिरहेका छन्।
‘टेस्टोस्टेरोन’ पुरूष हर्माेन हो । यसको नक्कल गर्ने ‘एनाबोलिक स्टेरोइड’ मांसपेशी वृद्धि गर्न प्रयोग गरिन्छ । यस्ता स्टेरोइडले पुरूषलाई बाँझो बनाउने सम्भावना ९० प्रतिशत हुने अनुसन्धानले देखाएको छ।
धेरैभन्दा धेरै मानिसहरूले असावधानीपूवर्क यस्ता स्टेरोइडको प्रयोग गरेर प्रजनन क्षमता घटाइरहेको अनुसन्धाताहरू बताउँछन् । यसले मानव ‘एभोल्युसनरी प्याराडक्स’का जोखिम बढाइरहेको छ।
यसलाई ‘मोसम्यान–पेसी प्याराडक्स’ भनिन्छ । ब्राउन युनिभर्सिटीका डा. जेम्स मोसम्यान र युनिभर्सिटी अफ शेफिल्डका प्रोफेसर एलन पेसीले पहिलो पटक यसको व्याख्या गरेका थिए । स्टेरोइडको प्रयोगले पुरूष बढी आकर्षक देखिए पनि उनीहरूको प्रजनन शक्ति ह्रास हुने डा. मोसम्यानले बताए।
‘केही पुरूष बाँझोपनको परीक्षण गर्न आएको र उनीहरूको शरिर भिमकाय भएको मैले याद गरेको छ,’ डा. मोसम्यानले बिबिसिलाई बताए।
‘उनीहरू भिमकाय देखिने प्रयासमा छन् । उद्विकासकै चरम सीमामा पुग्न चाहन्छन् । तर उद्विकासको दृष्टिले आफैंलाई अयोग्य बनाइरहेका छन् किनभने बिना अपवाद उनीहरूले वीर्य स्खलन गरिरहेका छैनन्।’
नेसनल हेल्थ सर्भिस (एनएचएस) ले जनाए अनुसार ‘एनाबोलिक स्टेरोइड’को प्रयोगग रोकथाम गर्न सकिने पुरूष बाँझोपनको प्रमुख कारण बन्दै गएको छ ।
फर्टिलिटी फ्युजनका कन्सल्ट्यान्ट गाइनेकोलोजिस्त तथा क्लिनिकल लिड फिल ह्यारिस भन्छन्,‘एनाबोलिक स्टेरोइडको प्रयोगले स्वास्थ्य र बाँझोपनमा पार्ने दीर्घकालीन प्रभावबारे थाहा नपाएका पुरूषहरूको संख्या क्लिनिकमा बढ्दै गएको मैले देखेको छु।’
‘अहिले र भविष्यमा सन्तान जन्माउन चाहने जोकोहीलाई पनि एनाबोलिक स्टेरोइडको प्रयोग नगर्न हामी सल्लाह दिन्छौं।’
तर स्टेरोइडले खास के प्रभाव पार्छ त?
स्टेरोइडले मष्तिष्कको ‘पिट्युटरी’ ग्रन्थीलाई अण्डकोष अत्यधिक सक्रिय भएको भ्रम पैदा गर्छ । यस्तोमा ग्रन्थीले वीर्यको उत्पादनमा मुख्य भूमिका खेल्ने दुई हर्माेन – ‘एफएसएच’ र ‘एलएच’ को उत्पादन बन्द गर्दछ।
तालु खुँइलिनबाट रोक्ने औषधि सेवन गर्ने पुरूषलाई पनि उस्तै प्रभाव देखिने मोसम्यान र पेसीले बताए । स्टेरोइडले प्रजनन क्षमता ह्रास गर्ने पुष्टि पहिले नै भए पनि मानिसको विशाल संख्या प्रभावित भएकोले वैज्ञानिकहरूले शब्द विशेष नै सिर्जना गरेको यो पहिलो पटक हो।
‘सोचेंभन्दा धेरै अर्थात् ९० प्रतिशत एनाबोलिक स्टेरोइड प्रयोगकर्ता बाँझो बन्न सक्नछन्,’ पेसीले भने।
‘तालु खुइलिने समस्याको उपचार अँध्यारोमा झटारो हानेजस्तै हो तर बिक्री भने आकाशिएको छ । यसले समस्या अझ बढाएको छ।’
‘आकर्षक देखिन पुरूषहरू जिम जान्छन् । महिलालाई आकर्षित गर्ने प्रमुख उद्देश्य हुन्छ । अन्ततः नजानेरै प्रजनन क्षमता घटाइरहेका छन्।’
‘एनाबोलिक स्टेरोइड’को नियमित प्रयोगले महिला र पुरूष दुवैमा धेरै प्रकारका शारीरिक तथा मनोवैज्ञानिक परिवर्तन ल्याउन सक्ने एनएचएसले जनाएको छ । यसले स्वास्थ्यमा पनि गम्भीर समस्या हुनसक्छ । वीर्यको संख्या घट्नु, अण्डकोष खुम्चिनु, स्तनको विकास र प्रोस्टेट क्यान्सरको जोखिम बढ्नु र अत्यधिक डण्डीफोर आउनु पुरूषमा देखिने शारीरिक प्रभाव हो । महिलामा अनुहारो रौं बढ्ने, स्तन घट्ने, स्वर भारी हुने र कपाल झर्नेजस्ता शारीरिक समस्या देखिन्छ।
महिलाजस्तै पुरूषको पनि सन्तान जन्माउने निश्चित समय हुने पछिल्लो अध्ययनको नतिजालाई यसले थप बल दिएको छ । म्याचुरितास नामक जर्नलमा प्रकाशित नयाँ अध्ययन प्रतिवेदन अनुसार ‘एड्भान्स प्याटर्नल एज’ पुग्नुअघि नै पुरूषले आफ्नो वीर्य बचत गर्नुपर्छ । त्यो भनेको ३५ देखि ४५ वर्षको उमेर हो । योभन्दा बढी उमेरका पुरूषको प्रजनन क्षमता घट्नसक्ने अध्ययनले देखाएको छ । यसले उनीहरूको महिला साथीलाई गर्भावस्थाको मधुमेह, ‘प्रि–इक्ल्याम्प्सिया’ र समयअघि नै सन्तान जन्मिनेजस्ता गर्भावस्था र सुत्केरी सम्बन्धी थुप्रै जटिल जोखिम निम्त्याउँछ।
यसबाहेक, पाको उमेरबाट जन्मिएका नवजात शिशुलाई जन्मजात मुटुरोग हुने, सिजर र कम तौलजस्ता थुप्रै समस्या हुने उच्च जोखिम हुन्छ ।