भेनेजुएला सत्ता पलटमा नेकपा अध्यक्ष दाहालको कडा विरोध
काठमाडौं, माघ ११ : भेनेजुएलामा निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई अपदस्थ गरी अमेरिकाको हस्तक्षेपमा हुवान गुएइदोले आफैलाई कार्यवाहक राष्ट्रपति घ....

काठमाडौं, माघ ११ : भेनेजुएलामा निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई अपदस्थ गरी अमेरिकाको हस्तक्षेपमा हुवान गुएइदोले आफैलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेकोप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कडा विरोध गरेका छन् ।
दाहालले शुक्रबार नेकपाकोतर्फबाट विज्ञप्ति जारी गर्दै भेनेजुएलाको सत्ता पलटको खरो विरोध गरेका छन् । भेनेजुएलाको सार्वभौमसत्ता र त्यहाँको प्रजातान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपतिलाई मान्यता दिने विज्ञप्तिमा जनाइएको छ ।
भेनेजुएलाको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर अहिले पक्ष र विपक्षमा विभाजित भएको छ । ‘अमेरिका र उसका गठबन्धनका राष्ट्रहरुले भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप गरेर भेनेजुएलाका जनता बीच विभाजन बढाउन खोजेको र त्यहाँको प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
गत बुधबार हुवान गुएइदोले आफैलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेपछि अमेरिका र त्यो क्षेत्रका अमेरिकी गठबन्धनका अरु राष्ट्रले मान्यता दिएबाट प्रजातान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति निकोलस मडुरो र भेनेजुएलाका जनताका विरुद्धमा ठुलो षडयन्त्र भएको देखिएको वक्तव्यमा उल्लेख छ । त्यस्तो हस्तक्षेप अस्वीकार्य भएको र साम्राज्यवादी कूको प्रयास भएको पनि वक्तव्यमा उल्लेख छ । एक दशकदेखि अमेरिकाले भेनेजुएलाविरुद्ध अमानवीय आर्थिक अवरोध सृजना गरेको भन्दै अमेरिकाले त्यहाँ भद्रगोल र हिंसाको वातावरण सृजना गर्न खोजेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । वक्तव्यमा अमेरिका र त्यस क्षेत्रका अन्य मुलुकहरुलाई अहस्तक्षेप, सार्वभौमसत्ताको सम्मान र शान्तिपूर्ण सहअस्तित्वलाई स्वीकार गर्न आह्वान पनि गरिएको छ ।
सरकारको नेतृत्व समेत गरेको नकपाका अध्यक्ष दाहालले वक्तव्यमा अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र सबै सार्वभौम मुलुकलाई भेनेजुएलाका जनताको पक्षमा ऐक्यवद्धता जारी गर्न र उनीहरुको सार्वभौमसत्ता रक्षाको संघर्षलाई समर्थन गर्न पनि आह्वान गरिएको छ ।
नेपाल सरकारले औपचारिक रुपमा मदुरोको सरकारलाई समर्थन नगरेको भए पनि सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अमेरिका र आफैलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका गुएइदोको विरोधमा जारी गरेको वक्तव्यले सरकारको समर्थनको संकेत गरेको छ ।
अमेरिका, क्यानाडा, बेलायत, अर्जेन्टिना, ब्राजिल, पेरु, चिली लगायत मुलुकले नयाँ राष्ट्रपतिलाई मान्यता दिएका छन् । चीन, रुस ,क्युवा र बोलिभियाले मदुरोलाई समर्थन गरेका छन् । नेपाल सरकारले औपचारिक रुपमा मदुरोको सरकारलाई समर्थन नगरेको भए पनि सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अमेरिका र आफैलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका गुएइदोको विरोधमा जारी गरेको वक्तव्यले सरकारको समर्थनको संकेत गरेको छ । 











