नाकाबन्दी हुँदा विदेश सचिव रहेका जयशंकर बने विदेशमन्त्री
काठमाडौं, जेठ १७ : नेपालमा नाकाबन्दी लगाउँदा विदेश सचिव रहेका एस. जयशंकर भारतको विदेशमन्त्री बनेका छन्।
आज बसेको भारतको मन्त्रिपरिषद् बैठकले....

काठमाडौं, जेठ १७ : नेपालमा नाकाबन्दी लगाउँदा विदेश सचिव रहेका एस. जयशंकर भारतको विदेशमन्त्री बनेका छन्।
आज बसेको भारतको मन्त्रिपरिषद् बैठकले उनलाई विदेशमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ। उनले हिजो साँझ मन्त्रीको सपथग्रहण गरेका थिए।
दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ मन्त्रिमण्डलमा पूर्व भारतीय विदेश सचिव जयशंकरले विदेशमन्त्रीकाे जिम्मेवारी पाएका हुन्।
२०७२ सालमा नेपालका प्रमुख राजनीतिक दलहरूले संविधान जारी गर्ने मिति तोकिसकेपछि जयशंकर मोदीको विशेष दूतका रुपमा काठमाडौं आएका थिए।
जयशंकरले त्यस बेला तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर तत्काल संविधान जारी नगर्न दबाब दिएका थिए। तर, नेपाली नेताहरूले जयशंकरको धम्कीपूर्ण आग्रह लत्याइदिए।
जयशंकरले त्यसबेला ‘नेपाली नेताहरूले आफ्नो र भारतीय प्रधानमन्त्रीको अपमान गरेको’ महशुस गरेको र उनकै ब्रिफिङको आधारमा नयाँ दिल्लीले पाँच महिनासम्म नेपालमाथि नाकाबन्दी गरेको बुझाइ काठमाडौंका धेरै राजनीतिक विश्लेषकहरूको छ।
त्यस्तै, प्रधानमन्त्री मोदीले राजनाथ सिंहलाई रक्षा, अमित शाहलाई गृह, नितिन गडकरीलाई सडक परिवहन एवं राजमार्ग, सडानन्द गौडालाई रसायन, निर्मला सीतारमणलाई अर्थ, रामविलास पासवानलाई उपभोक्ता तथा खाद्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।
यसैगरी, नरेन्द्रसिंह तोमरलाई कृषि, रविशंकर प्रसादलाई कानुन, न्याय, संचार, इलेक्ट्रोनिक एवं सूचना, हरसिमरत कौर बादललाई खाद्य, रमेश पोखरियाल निशंकलाई मानव संशाधन विकास, थापवर चन्द गहलोतलाई सामाजिक न्याय एवं सशक्तिकरण, अर्जुन मुन्डालाई आदिवासी मामिला, स्मृति ईरानीलाई महिला एवं बाल विकास, हर्षवर्द्धनलाई स्वास्थ्य, परिवार कल्याण, विज्ञान र प्रकाश जावडेकरलाई पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ।











