ग्यारेजले बदलेको जीवन
विराटनगर, फागुन २१ : मोटरसाइकल ग्यारेज सञ्चालन गरेर मनग्य धन आर्जन गर्ने विराटनगरमा प्रशस्त देखिन थालेका छन् । ग्यारेज सञ्चालनका लागि पर्याप्त अध्ययन नपर्ने...
विराटनगर, फागुन २१ : मोटरसाइकल ग्यारेज सञ्चालन गरेर मनग्य धन आर्जन गर्ने विराटनगरमा प्रशस्त देखिन थालेका छन् । ग्यारेज सञ्चालनका लागि पर्याप्त अध्ययन नपर्ने र चाररपाँच महिना तालीम लिइसकेपछि ग्यारेज सञ्चालन गर्न कुनै समस्या नभएकाले यस काममा लाग्नेको भनाइ छ ।
शुरुमा प्रशिक्षार्थीलाई बिना पारिश्रमिक काममा लगाउने र काम सिकिसकेपछि पारिश्रमिक पनि दिने गरेको विराटनगरको रोडशेष चोकमा सञ्चालित युनिक मोटरसाइकल ग्यारेजका सञ्चालक तनवीर हुसनेले जानकारी दिए । उनले भने, ‘विगतमा साझेदारीमा काम गर्दा व्यवसाय राम्रै चले पनि पैसा हातमा हुँदैन्थ्यो तर अहिले आफैँले सञ्चालन गरेको ग्यारेजमा एक दर्जन प्रशिक्षार्थी छन्, थोरैलाई पारिश्रमिक दिन्छु, अन्यलाई काम सिकाउँछु ।’ उनी बजाजको शोरुममा काम गर्थे । काम सिक्का लागि तनवीरलाई कम्पनीले कोलकता पठायो । त्यहाँबाट उनले काममा दक्षता हासिल गरेर कम्पनीमै काम शुरु गरे तर कामअनुसारको दाम नदिएपछि, कम्पनी छाडेर आफ्नै ग्यारेज स्थापना गरे ।
विदेशको तातो घाममा काम गर्नुको सट्टा स्वदेशमा नै काम गर्नाले मनग्य आम्दानी गर्नुका साथै घर निर्माण गरी परिवारका सदस्यलाई उचित पालनपोषण र छोराछोरीलाई स्तरीय शिक्षा प्रदान गर्न सकिने विराटनगरस्थित मोटरसाइकल मर्मत केन्द्रका अरु सञ्चालकको भनाइ छ । उनीहरूका अनुसार काम कुनै पनि ठूलो, सानो हुँदैन र यसलाई जीवनमा उतार्न सक्नुप¥यो अनिमात्र त्यसबाट लाभ लिन सकिन्छ । केही औजार र सटर भाडामा लिई सञ्चालन हुने यो व्यवसायमा लाग्नेको सबै सामान मोटर पार्टस् पसलेले उलब्ध गराउँछ । यस्ता पार्टस्बाट पनि उनीहरूले राम्रै कमिशन पाउने गरेको विराटनगर भट्टीचोकस्थितका कमल मोटरपार्टस् सञ्चालकले जानकारी दिए । ग्यारेजवालाले एक महिनासम्म उधारोमा सामान लैजान्छ र पछि एकमुष्ट पैसा बुझाउन आउँदा कमिशन पनि पाउने गरेको बताइएको छ ।
विराटनगर महानगरपालिका–११ बसपार्क छेउमा मोटरसाइकल र स्कुटर मर्मत केन्द्रका नवीन पौदार भन्छन्, ‘बिहानदेखि बेलुकासम्म काम गर्दा कम्तीमा पाँच हजार रुपैयाँ दैनिक कमाउँछु । यसबाट मेरो परिवार राम्रोसँग चलेको छ ।’ उनले विदेशमा लाखौँ खर्च गरेर तातो घाममा काम गर्नुका सट्टा स्वदेशमै यस्ता व्यवसाय गरेर आम्दानी पनि हुने र ऋण पनि नलाग्ने बताए ।
उनले विगतमा आफूलाई पनि यो सीपबारे केही जानकारी थिएन, पछि मैले एउटा ग्यारेजमा निःशुल्क काम गरेर र सीप सिकेर यो ग्यारेज खोल्दा म पनि मालिक भएको छु र अन्य युवालाई पनि यो सीप सिक्न हौसला प्रदान गरिरहेको जानकारी दिए । यो व्यवसायमा कहिले पनि घाटा हुँदैन, सधैँ नै आम्दानी यो व्यवसाय पछिल्लो समयमा निकै चल्नुको कारण मोटरसाइकल चढ्ने सौखिन एवं उपभोक्ता बढ्नु नै हो पोदारको भनाइ छ ।
आफ्नो दक्षतासँगै ग्यारेज खोल्दा यसमा निकै रमाइलो भइरहेको उनको अनुभव छ । पोदारका अनुसार इञ्जिन खोल्दा मात्र गहिरिएर काम गर्नुपर्ने नभए सामान्य ढङ्गले यो पेशा चलेको छ । इञ्जिन खोल्दा मोटरसाइकलअनुसार पाँच हजारदेखि १५ हजारसम्म खर्च हुने र सामान्य सर्भिस गर्दा रु ५०० रुपैयाँ मात्र लिन गरेको म्याकानिक पोदारको भनाइ छ । विराटनगरमै लगभग १०० जति ग्यारेज छन् । सबै उत्तिकै चलेका छन् । कोही पनि हात बाँधेर बस्नुपर्ने अवस्था छैन । धेरै वर्ष पहिले मोटरसाइकलवालाले इञ्जिन बनाउन भारत विहारको फरबीसगञ्ज जान्थे तर अहिले हाम्रै देशमा प्रशस्त ग्यारेज भएकाले कसैले पनि देश बाहिर गएर मोटरसाइकल बनाउनुपर्ने अवस्था छैन । सीप सिकेर काम गरेमा कसैले पनि भोकै बस्नु नपर्ने ग्यारेजवाला विराटनगरका लागि उदाहरण बनेका छन् ।
यस्तै वडा नं १२ मा शर्मा रिपेयरिङ सेन्टर सञ्चालक विवेक शर्माले पाँच लाख रुपैयाँ खर्च गरेर ग्यारेज सञ्चालन गरेका छन् । ‘यो व्यवसायमा कहिले पनि फुर्सद हुँदैन र आम्दानी पनि राम्रै हुने गरेको छ’, उनले भने । शर्माले आफ्नो ग्यारेजमा अन्य दुईलाई समेत रोजगार दिँदै आएका छन् । रासस











