Kathmandu Press

गौतमबुद्ध विमानस्थल सञ्चालन जिटुजी अवधारणामा

काठमाडौं, जेठ १६ : सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजी) अवधारणा अगाडि सारेको छ। 

नि....

गौतमबुद्ध विमानस्थल सञ्चालन जिटुजी अवधारणामा
फाइल फोटो

काठमाडौं, जेठ १६ : सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजी) अवधारणा अगाडि सारेको छ। 

निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन गरिरहेका सरकारी कम्पनीलाई जिम्मा दिने लक्ष्यअनुसार उक्त अवधारणा अगाडि सारिएको हो।
 
हाल ७३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको सो विमानस्थललाई सरकारी कम्पनी वा संस्थाले नै सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयालाई सैद्धान्तिक स्वीकृति दिइएको छ। धावनमार्ग कालोपत्रे सम्पन्न भइसकेको सो विमानस्थल आगामी भदौको अन्तिम सातादेखि व्यावसायिक उडान गर्ने गरी तयारी गरिएको छ।
 
यही जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि उक्त अवधारणा अगाडि सारिएको र प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिए। 
 
नेपाल भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरिएको मन्त्री बाँस्कोटाले बताए। मन्त्री बाँस्कोटाका अनुसार नेपाली सैनिक चार्टर उडान विकास समितिलाई कायम राखिने छ।

 

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, जेठ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्