डाेटीकाे जोरायलका जङ्गलमा आगलागी
डोटी, फागुन २१ : जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ । यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा...
डोटी, फागुन २१ : जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ ।
यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन् । दाउरा सङ्कलनका लागिसमेत प्रतिबन्ध लगाइएको उक्त जङ्गलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जङ्गलमा समेत आगो फैलिँदै गएको जोरायल गाउँपालिका–१ गोगनपानीका सोपान ओलीले बताए । उनले भने, ‘जङ्गलभरि आगलागी भएको छ, समयमै नियन्त्रण गर्न सकिएन भने वरपरका छिमेकी सामुदायिक वनमा समेत आगो फैलिने डर भएको छ ।’
आगलागीका कारण ती क्षेत्रका सामुदायिक वनमा उम्रिएका स–साना बोट बिरुका साथै जडीबुटीसमेत जलेर खरानी हुन थालेको स्थानीयवासीको भनाइ छ । आगोले सो क्षेत्रमा रहेका सल्ला, बाज, गुराँस तथा सम्मे, सतुवा, झ्याउ, कुरिलो, तेजपात, कटुकीलगायतका बहुमूल्य जडीबुटीसमेत नष्ट हुँदै गएका छन् । आगोका कारण जडीबुटीको क्षतिको यकिन विवरण सङ्कलन गर्न सकिएको छैन । अहिले पनि स्थानीयवासी तथा उपभोक्ता समितिका पदाधिकारी मिलेर आगो निभाउने प्रयास भइरहेको बताइएको छ ।
ती क्षेत्रमा तीव्र गतिको हावा चल्ने गरेका कारण आगो नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष भोजबहादुर मल्लले बताए । उनले भने, ‘जोरायल क्षेत्रमा हिजोआज दिउँसोको समयमा तीव्ररुपमा हावा चल्न थालेका कारण आगो निभाउन सकिएको छैन, हामी सबै मिलेर आगो नियन्त्रणमा लिने प्रयासमा छौँ ।’
उनका अनुसार आगो नियन्त्रणमा लिन अहिले सो क्षेत्रमा अग्निरेखा बनाउने काम भइरहेको छ ।











