Kathmandu Press

भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाइने

महेन्द्रनगर, फागुन २१ : कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोरो भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी...
भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाइने

महेन्द्रनगर, फागुन २१ : कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोरो भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ।

लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। 

‘नेपाल–भारत सीमा कटेर करिब ३ सय मिटर वर आइसकेका चार भारतीय युवकसित झोला देखेपछि रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि नै फायर भयो,’ उनले भने, ‘जबाफी फायरमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो।’

घटनालगत्तै मृतकका बुबा गुरदेव सिंह प्रहरीको सम्पर्कमा आएपछि मृतकको पहिचान खुलेको थियो।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीसहितको टोलीले शुक्रबार बिहान घटनास्थलको स्थलगत अनुगमन गरेको छ ।

‘हामी अहिले पनि घटनास्थलमै खटिएर थप अनुसन्धान गरिरहेकै छौं,’ प्रवक्ता थापाले भने, ‘शव बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।’

भारतीय पक्षसित पनि समन्वय भइरहेको बताउँदै प्रवक्ता थापाले शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जानकारी दिए।

मृतक सिंह लामो समयदेखि उक्त क्षेत्रमा लागुऔषध, नक्कली नोट बनाउने गिरोहमा संलग्न रहेर तस्करी गर्दै आएको खुल्न आएको प्हरीको भनाइ छ।

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्