Kathmandu Press

यस्तै भयो भने कम्युनिष्ट शासनलाई हटाउनु पर्ने दिन आउँछ : देउवा

काठमाडौं, जेठ १६ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता विरोधी भएको आरोप लगाएक....

यस्तै भयो भने कम्युनिष्ट शासनलाई हटाउनु पर्ने दिन आउँछ : देउवा

काठमाडौं, जेठ १६ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता विरोधी भएको आरोप लगाएका छन्। 

बिहीबार कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारले संघीयतालाई अपमान र वेवास्ता गरेर असफल बनाउन खोजेको आरोप लगाएका हुन्।

‘सरकारको हिजोको बजेट हेर्ने हो भने सरकारले संघीयतालाई वेवास्ता र अपमान गर्न खोजेको छ,’ देउवाले भने,‘यो सरकार संघीयता विरोधी छ। संघीयतालाई कार्यान्वयन गर्ने र सफल बनाउने पक्षमै छैन।’

देउवाले कम्युनिष्ट पार्टीकै प्रदेशका मुख्यमन्त्रीहरुले आफूहरुलाई अधिकार नदिएको भनेर भन्नुले नै सरकार संघीयताको खिलाफमा भएको पुष्टि हुने बताए। उनले सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहसम्म विकेन्द्रीकरण भएपनि ओली सरकारले फेरि अधिकार केन्द्रीकरण गर्न खोजिरहेको आरोप लगाए। 

‘संघीयता भनेको सिंहदरबारको अधिकार विकेन्द्रीकरण  हुनु हो। सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहसम्म जानु हो,’देउवाले भने,‘तर, सरकारले त्यो अधिकार फेरि केन्द्रीकरण गर्न खोजिरहेको छ।’

उनले प्रदेशले संघीयताको मुल मर्मअनुसार अधिकार पाउनु पर्ने बताए। ‘प्रदेशले त्यो अधिकार पाउनु पर्छ र राम्रो काम गर्न पाउनु पर्छ,’ उनले भने,‘संघ र प्रदेशबीच राम्रो समन्वय हुन जरुरी छ।’ ओली सरकारले संघीयतालाई महत्व नदिएकाले कांग्रेस प्रदेशको पक्षमा लाग्नु पर्ने बेला आएको देउवाको भनाइ छ।

उनले ओलीले लोकतन्त्रलाई असफल र कब्जा गर्न खोजेको आरोप पनि लगाए।  देउवाले प्रधानमन्त्री अ‍ोलीले लोकतन्त्रमागि धावा बोलेर लोकतन्त्रलाई असफल  बनाउन खोजेको आरोप लगाए। ‘ ओलीले लोकतन्त्र असफल बनाएर कब्जा गर्न खोज्दैछन्,’ उनले भने,‘कम्युनिष्ट सत्ताविरुद्ध अर्को लडाई लड्नु पर्ने बेला आउन सक्छ।’

हिजो प्रजातन्त्र र लोकतन्त्रसँग हिड्न नचाहनेहरुलाई फाल्न कांग्रेस सफल भएको स्मरण गर्दै देउवाले कम्युनिष्ट शासणलाई पनि त्यसैगरी हटाउनु पर्ने दिन आउन सक्ने चेतावनी दिए।  ‘हिजो राणा, पञ्चायत र राजाविरुद्ध लडेर लोकतन्त्र र गणतन्त्र ल्यायौं,’ देउवाले भने,‘ यस्तै भयो भने कम्युनिष्ट शासनलाई हटाउनु पर्ने दिन आउन सक्छ। त्यसका लागि तयार हुनुस्।’ 

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, जेठ १६, २०७६