मोदीको नयाँ मन्त्रिमण्डलमा जयशंकर?
काठमाडौं, १६ जेठ : दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ मन्त्रिमण्डलमा पूर्व भारतीय विदेश सचिव एस. जयशंकर पनि रह....
काठमाडौं, १६ जेठ : दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ मन्त्रिमण्डलमा पूर्व भारतीय विदेश सचिव एस. जयशंकर पनि रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
२०७२ सालमा नेपालका प्रमुख राजनीतिक दलहरूले संविधान जारी गर्ने मिति तोकिसकेपछि जयशंकर मोदीको विशेष दूतका रुपमा काठमाडौं आएका थिए।
जयशंकरले त्यस बेला तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर तत्काल संविधान जारी नगर्न दबाब दिएका थिए। तर, नेपाली नेताहरूले जयशंकरको धम्कीपूर्ण आग्रह लत्याइदिए।
जयशंकरले त्यसबेला ‘नेपाली नेताहरूले आफ्नो र भारतीय प्रधानमन्त्रीको अपमान गरेको’ महशुस गरेकाे र उनकै ब्रिफिङको आधारमा नयाँ दिल्लीले पाँच महिनासम्म नेपालमाथि नाकाबन्दी गरेको बुझाइ काठमाडौंका धेरै राजनीतिक विश्लेषकहरूको छ।
कतिपय भारतीय सञ्चार माध्यमहरूले त मोदीले जयशंकरलाई विदेश राज्य मन्त्री नै बनाउन लागेको दाबी गरेका छन्।
यसअघि मोदीको मन्त्रिमण्डलमा प्रख्यात भारतीय पत्रकार एम जे अकबर विदेश राज्य मन्त्री थिए। मिटू अभियानमा तानिएपछि अकबरले राजीनामा दिनु परेको थियो। उनलाई उनको पत्रिकामा काम गर्ने पूर्व महिला सहकर्मीहरूले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।






