Kathmandu Press

भूमिसम्बन्धी सबै समस्या समाधान गरिनेछ : अध्यक्ष ज्ञवाली

दमौली, फागुन २० :  भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएक छन्।अनौपचारिक क्षेत्र सेवा केन्द्र...
भूमिसम्बन्धी सबै समस्या समाधान गरिनेछ : अध्यक्ष ज्ञवाली
देवीप्रसाद ज्ञवाली, अध्यक्ष, भूमिसम्बन्धी समस्या समाधान आयोग

दमौली, फागुन २० :  भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएक छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले भानु नगरपालिकामा आयोजना गरेको आवासको अधिकारसम्बन्धी अन्तक्रियामा उनले भूमिसम्बन्धी समस्या भविष्यमा पटकपटक आयोग नबन्ने गरी वर्तमान आयोगले नै सबै समस्या समाधान गर्ने दाबी गरे। 

‘विगतमा आयोग गठनमा त्रुटि भएका कारण अहिले सरकारले ऐन निर्माण गरी अधिकार सम्पन्न आयोग बनाएको छ। सरकार परिवर्तन भए पनि आयोग विघटन हुँदैन,’ अध्यक्ष ज्ञवालीले भने, ‘भूमि र आवाससम्बन्धी अधिकार संविधानको मौलिक हकमा समेत समावेश भएकाले अब कोही पनि भूमिहीन भएर बस्नुपर्दैन।’

उनले वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई राज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने बताउँदै कसैले ढाँटेर र छलेर जग्गा प्राप्त गर्न खोज्छ भने त्यसलाई कानुनी कारबाही गरिने विश्वास दिलाए।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विगतमा धेरै आयोग बनेपनि भूमिसम्बन्धी समस्या यथावत् रहेकाले भविष्यमा यस्ता समस्या नदोहोरिने गरी काम गर्नुपर्नेमा जोड दिए। 

भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले अहिले स्थानीय तहमा लगत संकलनको काम भइरहेको जानकारी गराउँदै वास्तविक भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई समयमै निर्धारित स्थानमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरे। 

भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले नगरपालिकामा सुरक्षित आवास कार्यक्रमअन्तर्गत २ सय ३१ घर निर्माण भएको, जनता आवास कार्यक्रमअन्तर्गत ३५ जना लाभग्राही छनोट भएको र त्यसमध्ये २८ जनाले तेस्रो किस्ताबापतको रकम लिएर आवास निर्माण गरिरहेको जानकारी दिए।

प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्