भागरथी हत्या प्रकरणः अभियुक्तलाई हिरासतमा राख्न चौथोपटक म्याद थप
बैतडी, फागुन १९ : किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो...
बैतडी, फागुन १९ : किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो पटक म्याद थप भएको छ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले बुधबार जिल्ला अदालत, बैतडीबाट थप पाँच दिनका लागि अनुमति मागेको हो। दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ।
उनले आरोप स्वीकारीसकेको प्रहरीको भनाइ छ। गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो। पक्राउ गरेसँगै दिनेशविरुद्ध जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको छ।
अनुसन्धानका लागि प्रहरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधबार चौथोपटक म्याद थपेर अनुमति मागेको हो। नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानूनी व्यवस्था छ।
सोहीअनुसार अन्तिम म्याद थप भएको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। 'अनुसन्धान अन्तिम चरणमा पुगेको भए पनि सम्पन्न हुन सकेको छैन,' उनले भने, 'एक-दुई दिनभित्रै अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाउँछौँ।'
हाल प्रहरीले घटनामा दिनेशको संलग्नतालाई पुष्टि गर्ने थप आधार खोज्दै अनुसन्धान गरिरहेको छ। प्रहरीले बुझाएको प्रतिवेदनलाई सरकारी वकिलले अदालतमा बुझाउने छन्।
दिनेशको डिएनए परीक्षणका लागि काठमाडौँ प्रयोगशालामा पठाइएको छ। रिपोर्ट आएपछि अनुसन्धानको प्रतिवेदनमा थप्दै जाने प्रहरीले बताएको छ।
यसअघि भागरथीको पनि भजाइनल स्वाब विधिविज्ञान प्रयोगशाला पठाइएको थियो। रिपोर्ट भने आउन बाँकी छ।
गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा शव फेला परेको थियो।











