Kathmandu Press

ताप्लेजुङका आगलागी पीडितलाई प्रतिपरिवार ५ लाख दिइने

ताप्लेजुङ, फागुन १९ : गृहमन्त्री रामबहादुर थापाले आगलागी पीडितलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने बताएका छन्।गृह मन्त्रालयमा बुधबार ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार...
ताप्लेजुङका आगलागी पीडितलाई प्रतिपरिवार ५ लाख दिइने

ताप्लेजुङ, फागुन १९ : गृहमन्त्री रामबहादुर थापाले आगलागी पीडितलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने बताएका छन्।

गृह मन्त्रालयमा बुधबार ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यविधि संशोधन गरेर हिमाली भेगमा दिइने आवास निर्माणका लागि भूकम्पपीडित तथा बाढीपीडितसरह प्रतिपरिवार ५ लाख रुपैयाँ दिने बताएका हुन्।

मन्त्री थापाले आगलागीपीडितका लागि तत्काल प्रतिपरिवार १५ हजार ८० कम्बल र ५० पाल उपलब्ध गराउनेसमेत जानकारी दिए। 

यसैबीच ताप्लेजुङकाे मेरिङदेनस्थित दोभान बजारका आगलागी पीडित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।

मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले सबै क्षेत्रबाट उपलब्ध राहत एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने निर्णय गरेको हो। 

मङ्गलबार आगलागी भई क्षति पुगेका घर परिवारलाई आर्थिक सहायता प्रदान गर्ने राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, दातृ निकाय र व्यक्तिले गाउँपालिका विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ। 

यता जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले समेत एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा सङ्घसंस्थाले गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय गरिएको हो। 

त्यस्तै जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँचजना सम्मको परिवार सङ्ख्या भएकालाई नगद १५ हजार र सोभन्दा बढी सङ्ख्या भएका परिवारलाई २० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए।
 

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्