Kathmandu Press

राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि ‘संविधानसभा पदक’

काठमाडौं, जेठ १६ : सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ।

राष्ट्रपति कार्य....

राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि ‘संविधानसभा पदक’
रासस

काठमाडौं, जेठ १६ : सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहबीच उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गरेकी हुन्।

पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै एक हजार एक सय ६ सभासद्लाई सम्मान गरिएको हो।

मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पुर्‍याएबापत सभासद्लाई सम्मान गरिएको हो।

पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिला नम्बरमा छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गरेकी थिइन्।

पदक लिन सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनाल पनि शीतल निवास पुगेका थिए।

२०६४ चैत २८ गते पहिलो र २०७० मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो।

प्रकाशित मिति: १४:४१ बजे, बिहीबार, जेठ १६, २०७६