Kathmandu Press

देवताका नाममा झाँक्रीले दिए २९ महिने बालकको बलि

धनुषा, जेठ १६ : शक्तिशाली हुने अन्धविश्वासमा धनुषाका एक झाँक्रीले २९ महिने बालकको बलि दिएको खुलेको छ।

धनुषाको मिथिला नगरपालिका–६ का ५५....

देवताका नाममा झाँक्रीले दिए २९ महिने बालकको बलि
काठमाडौं प्रेस

धनुषा, जेठ १६ : शक्तिशाली हुने अन्धविश्वासमा धनुषाका एक झाँक्रीले २९ महिने बालकको बलि दिएको खुलेको छ।

धनुषाको मिथिला नगरपालिका–६ का ५५ वर्षीय शत्रुघन महतोले बालकको बलि दिएको प्रहरी अनुसन्धानमा खुलेको हो। बालकको बली दिएको आरोपमा पक्राउ परेका शत्रुघनलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

प्रहरीको अनुसन्धानअनुसार, शत्रुघनले गत वैशाख २३ गते बेलुका ५ बजे मिथिला नगरपालिका-६ का २८ महिने आर्यन भनेर बोलाइने समीरकुमार साहलाई अपहरण गरेका थिए। आफ्नो घरको ढोकामा फूलको बोट नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरेकाे प्रहरीकाे भनाइ छ।

उनलाई शत्रुघनले आफ्नो घरमा बन्धक बनाई राखी भोलिपल्ट वैशाख २४ गते बिहान चमेनिया माय भन्ने देवताका नाममा बलि दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शेखर खनालले बताए। उनले आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी हत्या गरेको अनुसन्धानमा देखिएकाे प्रहरी प्रमुख खनालले बताए।

हत्यापछि शत्रुघनले आर्यनको शवलाई उनकै घर पछाडि रहेको झाडीमा फालेका थिए।

शत्रुघन दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए। बेलाबेलामा आर्यनलाई झारफुक गर्दै आएका कारण फकाउन सजिलो भएको प्रहरीले भनाइ छ।

आर्यनकी आमा रेणुदेवी साह घाँस काट्न गएको बेला उनलाई घरबाटै लगेकाे प्रहरीले जनाएकाे छ।

शत्रुघनले अपराध स्वीकार गरेको र उनीबाट धारिलो हतियार, हत्या गर्दा लगाएको गञ्जी, गम्छा र धोती पनि बरामद गरिएको प्रहरी प्रमुख खनालले बताए।

 

प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, जेठ १६, २०७६