स्यानिटाइजर पिउँदा दुई जनाको मृत्यु
विराटनगर, फागुन १७ : कोरोना भाइरसको संक्रमणबाट जोगिन हातमा लगाउने स्यानिटाइजर पिउँदा झापा र मोरङका दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय, मोरङका...
विराटनगर, फागुन १७ : कोरोना भाइरसको संक्रमणबाट जोगिन हातमा लगाउने स्यानिटाइजर पिउँदा झापा र मोरङका दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार स्यानिटाइजर पिएर बिरामी परेका दुई बृद्धको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भइ विराटनगर महानगरपालिका–१७ रघुपति लाइनमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काका अनुसार दुवै जनाको सोमबार मृत्यु भएको हो। झापाकी बृद्धा अम्बिकाले मदिरा सोचेर स्यानिटाइजर सेवन गरेकी थिइन्।
त्यस्तै, मोरङका बृद्ध दिनेशले पारिवारिक विवादमा स्यानिटाइजर सेवन गरेका थिए। उनले शनिबार राति १० बजेतिर सेवन गरेका थिए।
बिरामी भएपछि दुवै जनालाई उपचारका लागि विराटनगर ल्याइएको थियो। शुरुआतमा सामान्य अवस्थामा भएपनि पछि गम्भीर भएका थिए। दुवै जनाको आईसीयूमा राखेर उपचार भइरहेको थियो।











