दर्जनौं वस्तुमा कर वृद्धिः टुटल र पठाओलाई राहत, मोबाइल सस्तिने
काठमाडौं, जेठ १५ : अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत दर्जनौं क्षेत्रमा कर बढाएका छ....
काठमाडौं, जेठ १५ : अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत दर्जनौं क्षेत्रमा कर बढाएका छन्। नयाँ क्षेत्रमा समेत कर लिने आर्थिक विधेयक संसदबाट पास भएको छ।
चुरोटमा प्रति खिल्ली २५ पैसा अन्तशुल्क वृद्धि गरिएको छ भने सुर्तीजन्य पदार्थमा पनि प्रतिकेजी २५ पैसा कर वृद्धि गरिएको छ। सरकारले पहिलो पटक विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइँदै आएको विदेशी मुद्रा सहटी सुविधावापत शिक्षा सेवा कर २ प्रतिशत लिइने भएको छ। सवारी साधनमा लाग्दै आएका विभिन्न शिर्षकको कर भने यथावत राखिएको छ।
सडक पूर्वाधार मर्मतका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ करको दर लगाइने भएको छ। त्यस्तै, चलचित्र विकास शुल्क समेत तय गरिएको छ। टेलिफोन स्वामित्व शुल्क समेत यस वर्षबाट लागू गरिने भएको छ। जसमा टेलिफोन जडान गर्ने ग्राहकबाट टेलिफोन स्वामित्व शुल्कवापत ५ सय रुपैयाँ असुल गरिने छ।
तर, अग्रिम भुक्तानी हुने मोबाइल टेलिफोनको हकमा प्रत्येक सिमकार्ड र रिचार्ज कार्डको मूल्यमा २ प्रतिशतका दरले टेलिफोन स्वामित्व शुल्क लाग्ने भएको छ। वन पैदावर शुल्कसमेत यस वर्षबाट सामुदायिक वन क्षेत्रमा समेत कार्यान्वयन हुने भएको छ। जसको प्रयोग गरेवापत व्यवसायिक प्रयोजन तथा विक्री गरेमा १५ प्रतिशत शुल्क तिर्नुपर्ने भएको छ।
याे पनि : ५० अर्ब थप भार पर्ने वितरणमुखी बजेट, स्रोत जुट्नेमा शंका
अथर्मन्त्री खतिवडाले नेपाल आत्मनिर्भर रहेको कुखुराको मासुमा लाग्ने भन्सार दर तीन गुणा बढाइदिएका छन्। यसअघि १० प्रतिशत भन्सार लाग्दै आएकोमा त्यसलाई बढाएर ३० प्रतिशत पुर्याइएको छ। दूध र दूग्धजन्य उत्पादन, चिनी, चकलेट र बिस्कुट आयातमा लाग्दै आएको भन्सार तथा अन्तशुल्क बढेको छ। अन्तशुल्क र भन्सार बढेसँगै यी वस्तुको अब महँगिने छन्। स्वदेशी उद्योगले आयातित विस्कुट र कन्फेसनरी आयातमा भन्सार बढाउन माग गर्दै आएका थिए।
यसैगरी स्वास्थ्यमा प्रतिकुल असर गर्ने चुरोट, वाइन, बियरमा भन्सार र अन्तशुल्क बढाइएको छ। अर्थमन्त्री खतिवडाले जस्तापाता आयातमा कडाइ गरिदिएका छन्। यसअघि १५ प्रतिशत भन्सार लाग्दै आएकोमा त्यसलाई ५ प्रतिशत विन्दूले बढाएर २० प्रतिशत बनाइएको छ।
मोबाइल फोनको अन्तशुल्क साढे दुई प्रतिशत कायम गरिएको छ। चालु आर्थिक वर्षको बजेटमा भ्याट फिर्ता हटाउँदै अन्तशुल्क पाँच प्रतिशत लगाइएको थियो। अन्तशुल्क लगाएपछि अवैध रुपमा मोबाइल सेट आयात हुँदा वैधानिक रुपमा आयात हुने मोबाइल सेट ५० प्रतिशतले घटेको थियो।
अर्थमन्त्री खतिवडाले मदिरा र सुर्तीजन्य वस्तु, स्वदेशमै खपत हुने कच्चा पदार्थ, तथा आधारभूत कृषि उपजबाहेकका अन्य मालवस्तुको निकासीमा लाग्दै आएको महशुल हटाएका छन्। आफ्नो उत्पादनको २० प्रतिशतभन्दा धेरै निकासी गर्ने सबै प्रकारका कच्चा पदार्थको आयातमा बण्डेड वेयर हाउसको सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ।
टुटल र पठाओलाई करमा राहत
सरकारले बजेटबाट राइड सेयरिङ कम्पनी टुटल र पठाओलाई प्रत्यक्ष राहत हुने गरी स्टार्टअप कम्पनीलाई करमा राहत दिने व्यवस्था गरेको छ।
बजेटमा करको दायरामा नआएका कम्पनी करको दायरामा आए २०७५-७५ भन्दा अघिको सम्पूर्ण कारोबारमा लाग्ने कर तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ।
अर्थमन्त्री खतिवडाले बजेटमार्फत करको दायरमा नआएका स्टार्टअप सञ्चालक २०७६ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर र आयकरको दायरामा आएमा त्यसभन्दा अघिका सम्पूर्ण कारोबारमा लाग्ने कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज मिनाहा दिने व्यवस्था गरेका छन्।






