बजेट : विदेश पढ्न जाने नेपाली विद्यार्थीले विदेशी मुद्रा साट्दा २ प्रतिशत कर तिर्नुपर्ने
काठमाडौं, जेठ १५ : विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई दिइँदै आएको विदेशी मुद्रा सहटी सुविधामा सरकारले २ प्रतिशत शिक्षा सेवा कर लगाएको छ। ....
काठमाडौं, जेठ १५ : विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई दिइँदै आएको विदेशी मुद्रा सहटी सुविधामा सरकारले २ प्रतिशत शिक्षा सेवा कर लगाएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–०७७ को बजेटको आर्थिक विधेयक मार्फत् यो कर लगाइएको हो। यसअघि विदेश पढ्न जाने नेपाली विद्यार्थीले विदेशी मुद्रा साट्दा कर तिर्नु पर्दैन थियो।
हरेक वर्ष हजारौं नेपाली विद्यार्थीहरू विदेश पढ्न जाने गरेका छन्। यो संख्या प्रत्येक वर्ष बढ्दैछ। विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या पछिल्लो ८ वर्षमा पाँच गुणाले बढेको शिक्षा मन्त्रालयबाट नो अब्जेक्शन सर्टिफिकेट लिनेको तथ्यांकले देखाउँछ।
आर्थिक वर्ष २०७४–७५ मा ५८ हजार ७ सय ५८ जनाले नो अब्जेक्शन सर्टिफिकेट लिएका थिए। यो संख्या आर्थिक वर्ष २०६७–६८मा ११ हजार ९ सय ८२ मात्रै थियो।
विदेश पढ्न जाने नेपाली विद्यार्थीले हरेक वर्ष अर्बौं रुपैयाँ विदेश लगिरहेका छन्।






