Kathmandu Press

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ : स्वास्थ्यमन्त्री

काठमाडौं, फागुन १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड-१९ विरुद्धको लडाइँमा नेपाल...
खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ : स्वास्थ्यमन्त्री

काठमाडौं, फागुन १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड-१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएक छन्।

मन्त्रालयद्वारा आइतबार आयोजित आम सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १ सय १ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकता प्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकता प्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको बताए।

उनले खोप अभियानका लागि अनुमानितभन्दा कम लागतमा सो अभियान सञ्चालन भइरहेको तथा प्रक्रियामा कुनै अनियमितता र अराजकता हुन नदिइने संकल्प गरे।

सरकारले महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई पहिलो प्राथमिकता प्राप्त समूहको पहिलो चरण गत माघ १४ देखि २४ सम्म सञ्चालन गरेको थियो ।

५५ वर्षमाथिका सबैका लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सुरु हुनेछ । पहिलो र दोस्रो प्राथमिकता प्रप्त समूह गरी कुल जनसंख्याको २० प्रतिशतलाई खोप उपलब्ध गराउने सरकारी तयारी छ ।

उनले भने, ‘राजनीतिक र कूटनीतिक प्रयासबाट हामी चाँडै खोप ल्याउन सफल भएका छौं । यसका लागि सार्वजनिक खरीद ऐनको बाधा अड्काउ फुकाउ गराएर यसको उपलब्धता गराएका छौं ।’

‘सीमित देशका सीमित कम्पनीले उत्पादन गरेकाले अझै केही खोपको खरिदमा प्रतिस्पर्धा गराउन सक्ने स्थिति नभएकाे उनले बताए। यस पक्षमा सञ्चारकर्मीहरूले कुनै भ्रम र नकारात्मक टिप्पणी नगरिदिनुहोला,’ उनले भने, ‘कानुनविपरीत कुनै काम हामी गर्नेछैनौं ।’

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोपको उपलब्धताको जिम्मा संघीय सरकार तथा वितरण र व्यवस्थापनको जिम्मा स्थानीय तहको भएकाले यसमा सबै तहका सरकार र नागरिक समाजको सक्रियता आवश्यक रहेको बताए।

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, फागुन १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्