सरकारको प्राथमिकतामै परेन भिजिट नेपाल–२०२० कार्यक्रम
काठमाडौं, जेठ १५: भिजिट नेपाल–२०२० कार्यक्रम सरकारले ल्याएको आर्थिक वर्ष २०७६–७७ को बजेटको प्राथमिकतामै परेन। सन् २०२० सम्म २० ....

काठमाडौं, जेठ १५: भिजिट नेपाल–२०२० कार्यक्रम सरकारले ल्याएको आर्थिक वर्ष २०७६–७७ को बजेटको प्राथमिकतामै परेन। सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी कार्यक्रम यसअघि नै अघि बढाइसकेको छ। तर, बजेटमा भने यसलाई कुनै स्थान दिइएको छैन।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले भिजिट नेपाल–२०२० कार्यक्रमको शब्द समेत उच्चारण गरेनन्। २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको र पर्यटनबाटै विदेशी मुद्रा भित्र्याउने सरकारको भनाइ र गराइमा फरकपन बजेटमार्फत देखिएको छ।
भिजिट नेपाल–२०२० नजिकै आइसकेको अवस्थामा समेत सरकारको प्राथमिकतामा नपर्नुले लक्ष्य पुग्नेमा आंशका उब्जिएको छ। भौतिक पूर्वाधार समेत अभाव रहेको पर्यटनमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र मर्मतमा सरकारले कुनै हतार गरेको देखिन्न।
हवाई सुरक्षाका निम्ति भनेर सरकारले कुनै ठोस कार्यक्रमहरुमा जोड दिएको छैन। पर्यटन क्षेत्रमा २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। तर, भिजिट नेपाल–२०२० कार्यक्रमकै लागि भनेर सरकारले कुनै छुट्टै बजेट ल्याएको छैन।











