चालु खर्चतर्फ साढे ९ खर्ब बजेट विनियोजन हुँदा विकास खर्चतर्फ ४ खर्बमात्रै
काठमाडौं, जेठ १५ : आगामी आर्थिर्क वर्ष २०७६–७७ का लागि सार्वजनिक गरिएको बजेटमा चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ वि....

काठमाडौं, जेठ १५ : आगामी आर्थिर्क वर्ष २०७६–७७ का लागि सार्वजनिक गरिएको बजेटमा चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। चालु खर्चतर्फ बजेटको ६२.४ प्रतिशत हिस्सा हो। चालु खर्च भन्नाले कर्मचारीको तलब, भत्ता वितरण, वैदेशिक ऋण परिचालन लगायत पर्छ।
त्यसैगरी, पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख खर्च गर्ने लक्ष्य राखिएको छ। जुन बजेटको २६.६ प्रतिशत हिस्सा हो। वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात बजेटको ११ प्रतिशत हिस्सा रहेको छ।
खर्च व्यवस्थापनतर्फ पनि बजेट महत्वकांक्षी देखिएको छ। आगामी वर्ष सरकारले राजस्व संकलन ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ लक्ष्य लिइएको छ। चालु वर्ष नै सरकारले लक्ष्यभन्दा १ खर्ब राजस्व कम सकंलन गर्दैछ।
त्यसैगरी, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख हुने अपेक्षा गरिएको छ भने वैदेशिक ऋणबाट २ खर्ब ९८ करोड ८३ लाख ३३ लाख रुपैयाँ आउने लक्ष्य राखिएको छ। राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुन हुने खुद १ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट उठाइने उल्लेख गरिएको छ।











