बर्थिङ सेन्टर बनेपछि ग्रामीण महिलालाई राहत
काठमाडौं, फागुन १५ : सुत्केरी हुने बेला आइपर्ने विभिन्न समस्यासँग जुधिरहेका पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाका महिलाहरू अब आफ्नै गाउँमा बर्थिङ सेन्टर बनेपछि खुसी भएका...
काठमाडौं, फागुन १५ : सुत्केरी हुने बेला आइपर्ने विभिन्न समस्यासँग जुधिरहेका पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाका महिलाहरू अब आफ्नै गाउँमा बर्थिङ सेन्टर बनेपछि खुसी भएका छन्।
सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगन्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुसी भएको वडा २ भेरिहर्वाका कमल दासको भनाइ छ।
बर्थिङ सेन्टरको अभावमा सुत्केरी व्यथाबाट छटपटाइरहेको महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेकामा अब गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि ९० प्रतिशत महिला यो समस्याबाट निदान पाएको वडा ५ का वडाध्यक्ष केदार सहनीले बताए। उनले भने, आफ्नै गाउँ जयमंगलपुरमा नयाँ बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका सुत्केरी गराउने महिलाले नयाँ जीवन पाएका छन्।’
योसमेत गरी वडा ३ जयमंगललपुर, वडा ४ तुल्सी बर्वा र वडा २ टिहुकी सेढा गरी सो गाउँपालिकामा तीन बर्थिङ सेन्टर रहेका छन् । उक्त बर्थिङ सेन्टरमा प्रतिमहिना २५ देखि ३० जना सुत्केरी गराउन आउने गरेका बताइएको छ।











