Kathmandu Press

निरन्तरकाे तालाबन्दीले अस्तव्यस्त बन्याे कृषि विश्वविद्यालय

चितवन, फागुन १५ : दुई महिना अगाडिदेखि तालाबन्दी नखुल्दा चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । चालु आर्थिक वर्षको सात...
निरन्तरकाे तालाबन्दीले अस्तव्यस्त बन्याे कृषि विश्वविद्यालय

चितवन, फागुन १५ : दुई महिना अगाडिदेखि तालाबन्दी नखुल्दा चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । चालु आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन ।

विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको हो । विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिनलगायत महत्वपूर्ण पदमा नियुक्ति भइसके पनि निर्देशक, परीक्षा नियन्त्रक, सहायक डिनलगायत पदका लागि हानथाप परेको छ ।

विश्वविद्यालयका प्रशासन प्रमुख वुद्धि ढुंगानाका अनुसार पुस पहिलो साताबाट केन्द्रीय कार्यालय र डिनका कार्यालयमा तालाबन्दी छ।

ती कार्यालयमा पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संगठ, प्रगतिशील कर्मचारी संगठन र नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले तालाबन्दी गरेका छन् । पूर्वमाओवादी निकट राष्ट्रिय कर्मचारी संगठन र पूर्वस्वीकृत ज्यालादारी कर्मचारीले लगाएका ताला भने खुलेको उनले जानकारी दिए।

असन्तुष्ट प्राध्यापक र कर्मचारीले उपकुलपतिको राजीनामासहितका माग राखेर तालाबन्दी गरेका हुन् । विश्वविद्यालयमा असोज ९ गते प्रा.डा. पुण्यराज रेग्मी उपकुलपति नियुक्तिपछि विश्वविद्यालयमा निरन्तरजसो तालाबन्दी रहेको छ । उपकुलपति रेग्मीले विवादको समाधान गर्न नसकेका कारण विश्वविद्यालय दिनप्रतिदिन खस्कँदै गएको त्यहाँ कार्यरत प्राध्यापक बताउँछन्।

विश्वविद्यालयभित्रकै प्राध्यापकलाई उपकुलपति बनाउन नसक्दा बाहिरबाट आउनेले वास्ता नगरेकै कारण विश्वविद्यालय अस्तव्यस्त बनेको उनीहरूको भनाइ छ । उपकुलपति रेग्मीलाई यस विषयमा जानकारी लिन खोज्दा उहाँसँग सम्पर्क हुन सकेन।

विश्वविद्यालयका कृषि संकायका डिन जयप्रकाश दत्तले समस्या समाधान गरेर विश्वविद्यालयका प्रशासनिक काम अघि बढाउने प्रयास भइरहेको जानकारी दिए । पठनपाठन र परीक्षाका काम भने रोकिएको छैन । विश्वविद्यालयको उच्च पदाधिकारीको समूहबाट नै तालाबन्दी हुँदासमेत छलफल गरेर निकास निकाल्न सकिएको छैन।  
 
विश्वविद्यालयका संस्थापक रजिस्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरे जुन उद्देश्यका साथ विश्वविद्यालय स्थापना भएको हो, त्यसबमोजिम पदाधिकारीले काम नगर्दा विश्वविद्यालयनै विघटनमा जाने हो कि भन्ने चिन्ता बढेको बताउँछन्।

‘सत्ता पक्षका व्यक्तिको आपसी गुटबन्दीका कारण विश्वविद्यालय तहसनहस भयो,’ सरोकारवालाले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने उद्देश्यले २०६७ सालमा सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन निर्माण गरी यो विश्वविद्यालय स्थापना गरेको हो।

प्रकाशित मिति: १२:२९ बजे, शनिबार, फागुन १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्