बालिका बलात्कारका दोषीलाई १८ वर्ष कैद फैसला
सप्तरी, फागुन १४ : १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला...
सप्तरी, फागुन १४ : १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ।
जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बिहीबार आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।
पीडितका अनुसार कामबाट पैदल घर फर्किरहेका बेला सामान्य चिनजानका आरोपितले नास्ता र नसालु पदार्थ मिसाइएको फ्रुटी खान दिएर बेहोस बनाई २०७६ भदौ १२ गते राति राजविराज नगरपालिका–४ स्थित वैष्णव काली मन्दिरनजिकको कल्टु दासको पोखरी किनारमा लगेर बलात्कार गरेका थिए।
आरोपितले भदौ १२ गते राति १२ बजे घरनजिकै ल्याएर छाडेपछि अर्धचेत अवस्थामा फेला पारेको भन्दै पीडितकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७६ भदौ १३ गते उजुरी दिएकी थिइन्।
जिल्ला प्रहरी कार्यालयले आरोपितलाई २०७६ भदौ १३ गते पक्राउ गरेपछि पीडितले आरोपितको पहिचान गरेकी थिइन् । जिल्ला अदालतको २०७६ असोज ५ गतेको आदेशानुसार आरोपित राजविराज कारागारमा थुनामा छन् ।
–––











