भारतीय कुखुराको तस्करी बढ्यो, व्यवसायी चिन्तित
बाँके, फागुन १४ : बाँकेमा भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेको छ। मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट...
बाँके, फागुन १४ : बाँकेमा भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेको छ। मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेपछि बाँकेका कुखुरा व्यवसायी चिन्तित भएका छन् ।
खजुरा गाउँपालिका–२ सीतापुरका कुखुरा व्यवसायी इन्द्र श्रेष्ठले बाँके र बर्दियाका विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेको बताए। ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परेको छ ।
भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुरा नेपाल भित्रिने गरेको अर्का व्यवसायी लक्ष्मीबहादुर थापाले बताए ।
सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा र चल्ला तस्करी हुने गरेको पाइएको छ । यसरी भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगञ्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायतका जिल्लामा समेत पुग्ने गरेको कुखुरा व्यवसायी थापाको भनाइ छ ।
कुखुरा व्यवसायी थापाले तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरे पनि व्यवहारमा नियन्त्रणमा सहयोग नपाएको गुनासो व्यवसायीहरुले गरेका छन्। भारतीय कुखुराका कारण महङ्गो दाना र औषधि खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको थापाले बताए।
भारतमा १८० रुपैयाँमा प्रतिकेजीमा पाइने कुखुरा नेपालमा २१० रुपैयाँमा प्रतिकेजी थोक मूल्यमा तस्करहरूले पसल–पसलमा पुर्याउने गरेका छन् । २१० रुपैयाँमा खरिद भएको कुखुराको मासु उपभोक्तालाई भने खुद्रा मूल्य ३४० रुपैयाँ सम्ममा बिक्री गर्ने गरिएको छ ।











