Kathmandu Press

गैँडाको खाग तस्करी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं, फागुन १३ : गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ बस्ने...
गैँडाको खाग तस्करी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं, फागुन १३ : गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोकको मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवाको नौकुण्ड गाउँपालिका–३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्बा रहेको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाका फरार हुँदै आएका रेउलेलाई काठमाडौँ धापासीबाट तथा तामाङ र रुम्बालाई सीतापाइलाबाट पक्राउ गरेको हो।

उनीहरुले गैँडाको खाग ओसारपसार एवं खरीद बिक्री गर्न प्रयोग गरेको ना २ च १४५८ नम्बरको गाडी र एक थान हतकडीको चाबीसमेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक कानूनी कारवाहीका लागि आजै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताए

यहि मुद्दामा संलग्न रहेका अन्य चार जना अभियुक्तलाई ब्युरोबाट खटिएको प्रहरीले यसअघि नै काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज पठाइसकेको छ।

यसैबीच दुई महिलालाई टर्की पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउपर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका जरङ्खु डेरा गरी बस्ने गोरखा नगरपालिका–१ का जीवन भट्ट र काठमाडौँ माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–४ की पूर्णिमा सिर्पाली रहेका छन्।

जीवनलाई काठमाडौँ सोल्टीमोडबाट र पूर्णिमालाई काठमाडौँ माइतीघरबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

 

प्रकाशित मिति: २०:२७ बजे, बिहीबार, फागुन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्